• २०८३ श्रावण २६ मंगलबार

नेपालमा पाँचौं पुस्ताको दूरसञ्चार सेवाको तयारी, प्राधिकरणले माग्यो राय

नेपालमा पाँचौं पुस्ताको दूरसञ्चार सेवाको तयारी, प्राधिकरणले माग्यो राय

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा पाँचौं पुस्ताको मोबाइल दूरसञ्चार सेवा सञ्चालनको तयारीलाई अघि बढाउँदै ‘मोबाइल ब्रोडब्यान्ड विस्तार योजना : नेपालको पाँचौं पुस्तातर्फको यात्रा’ को मस्यौदा सार्वजनिक गरेको छ ।

प्राधिकरणले नेपालको विद्यमान मोबाइल दूरसञ्चार सेवाको अवस्था सुधार गर्दै नवीनतम पाँचौं पुस्ताको प्रविधितर्फ अघि बढ्ने उद्देश्यले उक्त मस्यौदा तयार पारेको जनाएको छ ।

दूरसञ्चार बजारको वर्तमान अवस्था, मोबाइल सेवाको मागमा भइरहेको निरन्तर वृद्धि, अन्तर्राष्ट्रिय अभ्यास, सेवा प्रदायकबाट प्राप्त विवरण तथा विभिन्न सरोकारवालासँग गरिएको छलफलका आधारमा योजना तयार पारिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार मस्यौदामा नेपालमा मोबाइल ब्रोडब्यान्ड सेवाको विकास, सेवा विस्तार तथा आगामी दिनमा पाँचौं पुस्ताको प्रविधि भित्र्याउन आवश्यक तयारी र सम्भावित कार्यदिशालाई समेटिएको छ । मस्यौदा सम्बन्धित सरोकारवालाको जानकारी तथा सुझावका लागि प्राधिकरणको वेबसाइटमा सार्वजनिक गरिएको छ। प्राधिकरणले योजनामाथि कुनै राय, सुझाव वा सल्लाह भए १५ दिनभित्र उपलब्ध गराउन आग्रह गरेको छ । प्राधिकरणले प्राप्त सुझावका आधारमा योजनालाई थप परिमार्जन तथा आवश्यक सुधार गर्न सकिने जनाएको छ ।

राष्ट्रिय दूरसञ्चार क्षेत्रलाई नयाँ प्रविधितर्फ लैजाने क्रममा पाँचौं पुस्ताको मोबाइल सेवा महत्वपूर्ण हुने भएकाले यसको पूर्वतयारी, पूर्वाधार विस्तार, सेवा गुणस्तर तथा बजारको आवश्यकतालाई योजनाबद्ध रूपमा सम्बोधन गर्ने उद्देश्यले मस्यौदा तयार गरिएको हो ।

मस्यौदासम्बन्धी राय तथा सुझाव नेपाल दूरसञ्चार प्राधिकरण, कान्तिपथ, जमल, काठमाडौंमा वा इमेल ठेगाना : pmdahal{at}nta.gov.np वा ppaudyal{at}nta.gov.np सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै