• २०८३ श्रावण २६ मंगलबार

कोलम्बियामा शक्तिशाली भूकम्प: मृत्यु हुनेको संख्या १११ पुग्यो

कोलम्बियामा शक्तिशाली भूकम्प: मृत्यु हुनेको संख्या १११ पुग्यो

काठमाडौँ । कोलम्बियामा आएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ । भवनहरू भत्किएर मानिसहरू पुरिएको आशंका रहेकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

स्थानीय समयअनुसार बिहान ७ बजेर ३४ मिनेटमा चोको प्रान्तलाई केन्द्रबिन्दु बनाएर १०३ किलोमिटर गहिराइमा भूकम्प गएको हो । यसको कम्पन पश्चिमी कोलम्बियाका साथै भेनेजुएला, इक्वेडर र पानामासम्म महसुस गरिएको थियो ।

सबैभन्दा बढी क्षति पेरेइरा क्षेत्रमा भएको छ । त्यहाँ कम्तीमा ४० जनाको मृत्यु, ६५ भवन भत्किएको र १५ भवनमा मानिसहरू पुरिएको आशंका गरिएको छ । कालीमा ३२ भवन भत्किएका छन् । मानिजालेस, क्विब्दो, मेडेलिन, चोको र भाये डेल काउका क्षेत्रमा पनि मानवीय क्षति भएको छ । मानिजालेसमा मात्रै कम्तीमा दुई जनाको मृत्यु भएको छ ।

राजधानी बोगोटामा भवनमा चिरा परेको तथा रूख र सडक बत्ती हल्लिएको भए पनि ठूलो संरचनात्मक क्षति भएको छैन । पेरेइरा, मानिजालेस, क्विब्दो, आर्मेनिया, कार्तागो र बुएनाभेन्तुराका विमानस्थलमा समेत क्षति पुगेको छ । भूकम्पबाट १ हजार ५०० भन्दा बढी घरमा क्षति पुगेको पुष्टि गरिएको छ ।

भूकम्पको केन्द्र नजिकै रहेको सान होसे डेल पालमार गाउँमा भने सडकहरू क्षतिग्रस्त भए पनि मानवीय क्षति नभएको स्थानीय अधिकारीले बताएका छन् । उद्धार तथा खोजी कार्य जारी छ र केही क्षेत्रमा मंगलबार बिहानसम्म कर्फ्यु लगाइएको छ ।

राष्ट्रपति अबेलार्दो दे ला एस्प्रिएलाले राष्ट्रिय विपद्को अवस्था घोषणा गर्दै उद्धार तथा राहतका लागि बजेट पुनःव्यवस्था गर्न सकिने विशेष अधिकार प्रयोग गरेका छन् । उनको कार्यकाल सुरु भएको केही दिनमै ठूलो विपद् आएको हो ।

अमेरिका, युरोपेली संघ र एल साल्भाडोरले उद्धार तथा राहतमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार करिब १५ लाख मानिसले शक्तिशाली कम्पन महसुस गरेका थिए । भूकम्प गहिराइमा गएको भए पनि यसले भवनमा ठूलो क्षति पुर्‍याउन सक्ने र त्यसपछि आउने परकम्प कम भए पनि शक्तिशाली हुन सक्ने बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै