• २०८३ श्रावण २७ बुधबार

शिक्षकको हाजिरी र अभिलेख किर्ते, प्रधानाध्यापकसहित दुई जनाविरुद्ध मुद्धा दायर

शिक्षकको हाजिरी र अभिलेख किर्ते, प्रधानाध्यापकसहित दुई जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । सर्लाहीको मलंगवा नगरपालिकास्थित श्रीमती कृष्णादेवी जनता माध्यमिक विद्यालयका शिक्षकको हाजिरी र बिदा अभिलेखमा हेरफेर गरी सरकारी रकम निकासा गरेको आरोपमा तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादव र शिक्षक प्रियंका कुमारी सिंह विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अनुसन्धानका क्रममा प्रियंका कुमारी सिंह २०७९ साल वैशाखदेखि कात्तिक १८ गतेसम्म विद्यालयमा अनुपस्थित रहेको पाइएको छ। तर तत्कालीन प्रधानाध्यापक विन्देश्वर यादवले शिक्षा ऐनबमोजिम कारबाही गर्नुको सट्टा हाजिरी रजिस्टर खाली राखी पछि एकमुष्ट हाजिरी गराएको अख्तियारको आरोप छ। यादवले उक्त हाजिरीमा मसी मेटाउने सामग्री प्रयोग गरी पुनः हाजिरी गराएको र अनुपस्थित अवधिको हाजिरी विवरणसमेत मलंगवा नगरपालिकामा पेस गरी तलब निकासा माग गरेको अनुसन्धानबाट खुलेको छ।

सो क्रममा २ लाख ९० हजार ४३४ रुपैयाँ निकासा भएको थियो। त्यस्तै, २०७९ साल श्रावणदेखि कात्तिकसम्मको २ लाख ४० हजार ९१४ तथा वैशाख, जेठ र असारको १ लाख ३० हजार १२१ रुपैयाँसमेत गरी अनुपस्थित शिक्षकका नाममा जम्मा ३ लाख ७१ हजार ३६ रुपैयाँ गैरकानुनी रूपमा निकासा गरी भुक्तानी गरेको पाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागजातमा हेरफेर गरी सरकारी रकम हिनामिना, हानिनोक्सानी तथा दुरुपयोग गरेको भन्दै दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र १७ बमोजिम कारबाहीको मागदाबी गरेको छ।

आयोगले दुवै प्रतिवादीविरुद्ध सजाय तथा बिगो असुलउपरको मागदाबी गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै