• २०८३ भदौ ५ शुक्रबार

कति छ अमेरिकाको राष्ट्रिय ऋण ?

कति छ अमेरिकाको राष्ट्रिय ऋण ?

काठमाडौँ । अमेरिकाको कुल राष्ट्रिय ऋण ४० खर्ब डलरभन्दा माथि पुगेको छ । विश्वकै ठूलो अर्थतन्त्रमध्ये एक रहेको अमेरिकाका लागि यो केवल एउटा आर्थिक तथ्यांक नभई सरकारमाथि बढ्दै गएको वित्तीय दबाबको संकेतसमेत हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा राष्ट्रिय ऋण अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए । तर, त्यसपछि पनि अमेरिकी ऋण निरन्तर बढ्दै गयो । अहिले उनको दोस्रो कार्यकालमा राष्ट्रिय ऋण त्यस समयको तुलनामा झन्डै दोब्बर पुगेको छ । ऋण बढ्दै जाँदा सरकारी आम्दानी र खर्चबीच सन्तुलन कायम गर्न अमेरिकालाई थप कठिनाइ भइरहेको छ ।

अमेरिकाको राष्ट्रिय ऋण बढ्नुमा लामो समयदेखिको उच्च सैन्य खर्च, सामाजिक सुरक्षा तथा स्वास्थ्य कार्यक्रमका लागि हुने बढ्दो खर्चलगायत कारण छन् । सन् २०२५ मा लागू गरिएका कर कटौतीका कारण सरकारी आम्दानीमा परेको दबाबले पनि ऋण बढाउन योगदान गरेको छ ।

इरानसँगको युद्ध र त्यससँग सम्बन्धित सैन्य अभियानले पनि सरकारको वित्तीय भार थप बढाएको छ । उपलब्ध विवरणअनुसार, यस वर्ष मात्रै अमेरिकी सरकारले आफ्ना दायित्व पूरा गर्न २० खर्ब डलरभन्दा बढी ऋण लिनुपर्ने अवस्था आएको छ । चिन्ताको विषय के छ भने कुल घाटाको झन्डै आधा रकम ऋणदातालाई तिर्नुपर्ने ब्याजमा खर्च भइरहेको छ ।

राष्ट्रिय ऋणसँगै त्यसको ब्याज तिर्नुपर्ने रकम पनि अमेरिकी सरकारका लागि ठूलो चुनौती बन्दै गएको छ । पुरानो ऋणमा ब्याज तिर्नुपर्ने भएकाले ऋणको आकार बढ्दै जाँदा ब्याज खर्च पनि निरन्तर बढ्छ । यसले शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा अन्य आवश्यक क्षेत्रमा खर्च गर्न सरकारसँग उपलब्ध रकम सीमित पार्न सक्छ ।

जिम्मेवार संघीय बजेटसम्बन्धी समितिका वरिष्ठ नीति निर्देशक मार्क गोल्डवेनले अमेरिका ऋणको चक्रमा फस्दै गएको चेतावनी दिएका छन् । उनका अनुसार ऋण घटाउन नीतिनिर्माताहरू असफल भइरहेकाले दीर्घकालीन जोखिम बढिरहेको छ ।

ट्रम्पले दोस्रोपटक सत्ता सम्हालेपछि सरकारी खर्च घटाउने उद्देश्यले एलन मस्कको नेतृत्वमा सरकारी दक्षता विभाग गठन गरेका थिए । उक्त विभागलाई सरकारी खर्चमा १० खर्ब डलरसम्म कटौती गर्ने लक्ष्य दिइएको थियो । तर, उपलब्ध विवरणअनुसार विभागले अपेक्षा गरिएअनुसार खर्च बचत गर्न सकेन । आगामी निर्वाचन नजिकिँदै जाँदा सरकारले ठूलो खर्च कटौती गर्ने कडा निर्णय लिन राजनीतिक कठिनाइसमेत सामना गर्नुपर्ने अवस्था देखिएको छ । त्यसैले खर्च घटाउने र राष्ट्रिय ऋण नियन्त्रण गर्ने चुनौती अझै कायमै छ ।

अमेरिकी सरकारले आफ्नो खर्च धान्न सरकारी ऋणपत्र तथा अन्य वित्तीय साधन बिक्री गरेर लगानीकर्ताबाट पैसा उठाउछ । सरकारी आम्दानीभन्दा खर्च बढी हुँदा यस्तो ऋण लिनुपर्ने हुन्छ । अमेरिकी वित्त विभागले यस्ता ऋणपत्र बिक्री गरेर आवश्यक रकम जुटाउछ ।

यसरी अमेरिकाको राष्ट्रिय ऋण मुख्यतः अमेरिकी सरकारी ऋणपत्र खरिद गर्ने स्वदेशी तथा विदेशी लगानीकर्ता र संस्थाबाट आएको हुन्छ । अमेरिकी वित्तमन्त्री स्कट बेसेन्टले अहिले लिइएको ऋण भविष्यमा उत्पादनशील क्षेत्रमा प्रयोग हुने भएकाले त्यसबाट आर्थिक लाभ हुने तर्क गर्दै आएका छन् । तर, वित्तीय बजारमा सरकारको यस्तो रणनीतिप्रति चिन्ता भने कायमै छ ।

अमेरिकी सरकारको आम्दानीको प्रमुख स्रोत कर हो । तर, सन् २०२५ मा लागू गरिएको कर कटौतीका कारण सरकारी आम्दानीमा कमी आएको छ । अर्कोतर्फ सरकारी खर्च भने निरन्तर बढिरहेको छ । आम्दानी र खर्चबीचको यही अन्तर पूरा गर्न सरकारले थप ऋण लिनुपरेको हो ।

स्वास्थ्य कार्यक्रम र सामाजिक सुरक्षा खर्च बढ्दै जानुले पनि सरकारमाथि वित्तीय दबाब थपेको छ । एकातिर नागरिक तथा व्यवसायमाथि करको भार कम राख्नुपर्ने दबाब छ भने अर्कोतर्फ बढ्दो बजेट घाटा र राष्ट्रिय ऋण नियन्त्रण गर्नुपर्ने चुनौती छ ।

ट्रम्प प्रशासनले आयातमा लगाइने करमार्फत सरकारी आम्दानी बढाउने योजना अघि सारेको थियो । तर, उपलब्ध विवरणअनुसार अमेरिकी सर्वोच्च अदालतले ती आयात करलाई अवैध ठहर गरेपछि सरकारलाई कम्पनीहरूलाई करिब १६ खर्ब डलर फिर्ता गर्नुपर्ने अवस्था आएको छ । यसबाट सरकारको आम्दानी बढाउने योजनामा धक्का पुगेको छ भने अर्कोतर्फ सैन्य अभियान, सामाजिक सुरक्षा, स्वास्थ्य कार्यक्रम तथा पुरानो ऋणको ब्याज भुक्तानीमा हुने खर्च भने निरन्तर छ । यसले अमेरिकी सरकारलाई एकैपटक बढ्दो खर्च र घट्दो आम्दानीको दबाबमा पारेको विश्लेषण गरिएको छ ।

अमेरिका अझै पनि विश्वकै ठूलो अर्थतन्त्र हो र अमेरिकी सरकारी ऋणपत्रलाई विश्व वित्तीय प्रणालीमा अत्यन्त महत्वपूर्ण मानिन्छ । तर, ऋण निरन्तर बढ्दै गएमा ब्याज भुक्तानीको बोझले सरकारको वित्तीय क्षमता कमजोर बनाउन सक्छ । दीर्घकालमा यसले अमेरिकी अर्थतन्त्रको विश्वसनीयतामाथि समेत प्रश्न उठाउन सक्ने जोखिम छ । अहिले अमेरिकासामु सैन्य तथा सामाजिक खर्च कायम राख्दै सरकारी आम्दानी बढाउने र ऋण बढ्ने गति नियन्त्रण गर्ने चुनौती छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै