• २०८३ भदौ ८ सोमबार

पहिलो विदेश भ्रमण युक्रेन जादै बेलायती प्रधानमन्त्री बर्नहम

पहिलो विदेश भ्रमण युक्रेन जादै बेलायती प्रधानमन्त्री बर्नहम

काठमाडौँ । बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले प्रधानमन्त्री बनेपछि आफ्नो पहिलो विदेश भ्रमणका रूपमा युक्रेनको राजधानी किएभ जाने भएका छन् । युक्रेनको ३५औँ स्वतन्त्रता दिवसका अवसरमा हुने भ्रमणमा उनले युक्रेनप्रति बेलायतको निरन्तर समर्थन दोहोर्‍याउने छन् ।

आज हुने भ्रमणका क्रममा बर्नहमले युक्रेनलाई सहयोग गरिरहेका देशहरूको ‘इच्छुक राष्ट्रहरूको गठबन्धन’ को पहिलो बैठकको अध्यक्षता गर्नेछन् । बेलायत र फ्रान्सले यसअघि युक्रेनलाई दीर्घकालीन सुरक्षा सहयोग उपलब्ध गराउन यो समूह गठन गरेका थिए । उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्नुका साथै स्वतन्त्रता दिवसका कार्यक्रममा पनि सहभागिता जनाउने छन् ।

बर्नहमले युक्रेनको स्वतन्त्रताको ३५औँ वर्षगाँठका अवसरमा बेलायत युक्रेनको साथमा रहेको र आवश्यक परेसम्म समर्थन जारी रहने बताएका छन् । उनले युक्रेनको सुरक्षा बेलायतकै सुरक्षासँग जोडिएको उल्लेख गर्दै रूससँगको युद्ध अन्त्य भएर न्यायपूर्ण र दीर्घकालीन शान्ति कायम नभएसम्म बेलायत पछि नहट्ने बताएका छन् ।

भ्रमणका क्रममा बेलायतले युक्रेनलाई लामो दूरीमा प्रहार गर्न सक्ने क्षेप्यास्त्र निर्माणमा समेत सहयोग गर्ने घोषणा गर्ने भएको छ । बेलायती सरकारले रक्षा सामग्री निर्माता कम्पनीलाई ‘स्काल्प’ क्षेप्यास्त्रमा प्रयोग भएका बेलायती सामग्रीसम्बन्धी गोप्य जानकारी सार्वजनिक गर्न अनुमति दिने भएको छ । यसबाट युक्रेनमै यस्ता क्षेप्यास्त्रको संयोजन तथा उत्पादनका लागि आवश्यक तयारी गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

‘स्काल्प’ र बेलायतको ‘स्टर्म स्याडो’ क्षेप्यास्त्रमा बेलायती तथा फ्रान्सेली प्रविधि प्रयोग हुन्छ । फ्रान्स र युक्रेनले युक्रेनमै यस्ता क्षेप्यास्त्रको उत्पादन तथा संयोजन केन्द्र स्थापना गर्ने विषयमा काम गरिरहेका छन् ।

बर्नहमको किएभ भ्रमण यस्तो समयमा हुँदैछ, जतिबेला रूस र युक्रेनबीचको युद्ध थप चर्किएको छ । पछिल्ला दिनमा रूसले युक्रेनमाथि आक्रमण तीव्र बनाएको छ भने युक्रेनले पनि रूसका विभिन्न क्षेत्रमा लामो दूरीका आक्रमण बढाएको छ । बेलायतले युक्रेनलाई हालसम्म करिब २५ अर्ब पाउन्ड बराबरको सैन्य तथा गैरसैन्य सहयोग उपलब्ध गराएको जनाएको छ ।

रूसले पछिल्लो समय युक्रेनलाई बेलायती उपकरण प्रयोग गरेर रूसभित्र आक्रमण गर्न सहयोग गरेको भन्दै बेलायतलाई चेतावनी दिँदै आएको छ । तर बर्नहमले बेलायतको युक्रेनप्रतिको समर्थन नबदलिने स्पष्ट पार्दै आएका छन् ।

बर्नहम गत जुलाई २० मा बेलायतको प्रधानमन्त्री बनेका हुन् । त्यसपछि युक्रेनी राष्ट्रपति जेलेन्स्की उनलाई भेट्ने पहिलो विदेशी राष्ट्रप्रमुख बनेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै