काठमाडौँ । हिमालयन बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा ३ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको जनाएको छ ।
२०८३ भदौ १० गते बिहान रसुवा जिल्लामा बग्ने भोटेकोशी नदीमा अचानक आएको बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी किनारका बासिन्दासहित अन्य प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो ।
बैंकले उक्त घटनाबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित सबैलाई धैर्य धारण गर्न आग्रह गरेको छ। साथै, आवश्यक सहयोग तथा उद्धार कार्यमा जुट्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
विपद्को समयमा प्रभावित समुदायसँगै रहेर सक्दो सहयोग गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।









