सिरहा । शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलमाथि सिरहाको औरही गाउँपालिका र लहानमा आयोजित शैक्षिक कार्यक्रममा विरोध भएको छ । कार्यक्रमस्थलमा होहल्ला भएपछि मन्त्री पोखरेलको सम्बोधन बीचमै रोकिएको थियो ।
मधेश प्रदेशमा पाठ्यक्रम परिमार्जनका विषयमा सुझाव संकलन गर्न सिरहा पुगेका मन्त्री पोखरेल औरही गाउँपालिकाको शिक्षा शाखाले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का स्थानीय पार्टी नेतृत्वसँग समन्वय नगरेको र आफ्नै पार्टीका नेता-कार्यकर्तालाई कार्यक्रममा अपमानजनक व्यवहार गरिएको भन्दै विरोध गरेपछि मन्त्री पोखरेलले भाषण बीचमै छोडेर कार्यक्रमबाट बाहिरिएका थिए ।
सिरहाबाट प्रतिनिधित्व गर्ने दुई प्रतिनिधिसभा सांसद समेत कार्यक्रममा सहभागी भए पनि स्थानीय नेता-कार्यकर्तासँग आवश्यक समन्वय नगरिएको र उनीहरूलाई कार्यक्रममा उचित स्थानसमेत नदिइएको भन्दै स्थानीय कार्यकर्ताले विरोध गरेका थिए ।









