काठमाडौँ । सरकारले बाढी तथा अन्य विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका र विशेष संरक्षण आवश्यक भएका बालबालिकाको सुरक्षा तथा भविष्य सुनिश्चित गर्न ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ ।
राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ नारासहित योजना अघि बढाएको हो ।
योजनाअन्तर्गत प्रभावित बालबालिकाको अवस्था पहिचान गरी सुरक्षित आवास, खानपान, स्वास्थ्य उपचार, मनोसामाजिक सहयोग, परिवार खोजी तथा पारिवारिक पुनर्मिलनको व्यवस्था गरिने मन्त्रालयले जनाएको छ ।
मन्त्री सिता बादीले विपद्ले बालबालिकाबाट घर, परिवार र अभिभावक खोस्न सक्ने भए पनि उनीहरूको बालापन र भविष्य सुरक्षित गर्नु राज्यको जिम्मेवारी भएको बताएकी छन् ।
योजनाको प्रारम्भिक कार्यान्वयनअन्तर्गत ललितपुरको गोदावरी–१२, ठेचोमा विशेष संरक्षण आवश्यक भएका उद्धार गरिएका बालबालिकाका लागि अस्थायी बाल संरक्षण सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ ।
भोटेकोसीमा आएको बाढीपछि बालबालिका परिवारबाट अलग हुने, हिंसा, शोषण तथा बेचबिखनको जोखिममा पर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा संरक्षण संयन्त्र परिचालन गरिएको मन्त्रालयले जनाएको छ ।
सरकारले बाल संरक्षणलाई उद्धार र राहतमा मात्र सीमित नराखी शिक्षा, स्वास्थ्य, मनोसामाजिक सहयोग, पारिवारिक पुनर्मिलन र पुनर्स्थापनासम्म जोडिएको दीर्घकालीन प्रणालीका रूपमा अघि बढाउने जनाएको छ ।









