काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज दोस्रो दिन पनि जारी रहेको छ ।
ललितपुरको भनीमण्डलस्थित रामबाग महलमा जारी केन्द्रीय कमिटीमा आज अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा छलफलको तालिका रहेको छ ।
एमालेको केन्द्रीय कमिटी बैठकमा बैठक संचालनको विषयमा विवाद आज पनि भएको छ । बैठकको सुरूमा केन्द्रीय सदस्य कर्णबहादुर थापाले बैठक संचालनको प्रक्रियाका बारेमा विरोध गरेका थिए ।
उनले केन्द्रीय सदस्यहरूलाई बोल्नबाट रोक्न नहुने भन्दै विरोध गरेका थिए । यसअघि पहिलो दिन अध्यक्ष आफैले बैठक संचालन गरेपछि नेता कृष्णगोपाल श्रेष्ठले विरोध गरेका थिए । पार्टीमा महासचिवले बैठक संचालन गर्ने परम्परा रहेको भन्दै श्रेष्ठले अध्यक्ष आफैले बैठक संचालन गरेको भन्दै आपत्ति जनाएपछि बैठकमा तनाव भएको थियो ।
यस पटक केन्द्रीय कमिटीको बैठक अध्यक्ष ओली आफैले संचालन गरेका छन् भने बैठकमा मोबाइल लैजान समेत प्रतिबन्ध लगाएका छन् ।
आजको बैठकमा राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यहरुले तीन मिनेटमा आ-आफ्नो धारणा राख्ने बताइएको छ ।









