काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विचार मिल्ने कम्युनिस्ट तथा देशभक्त गणतन्त्रवादी दल र समूहसँग पार्टी एकताका लागि पहल गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ ।
नेकपाको केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ रहेको वार्ता समिति गठन गरेको हो । समितिलाई एउटै कम्युनिस्ट पार्टी निर्माणका लागि सम्बन्धित पक्षसँग वार्ता तथा एकताको पहल गर्ने जिम्मेवारी दिइएको छ ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार विचार मिल्ने सबै पक्षसँग एकताका लागि वार्ता गरिनेछ । संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा माधवकुमार नेपालको सञ्चालनमा बसेको बैठकले पार्टी र जनवर्गीय संगठनको समायोजन तथा सदस्यता नवीकरण, संगठन सुदृढीकरण अभियान र पार्टीमा अन्य समूहलाई समाहित गर्ने विषयलाई पनि एजेन्डामा राखेको छ ।
बैठकले महाधिवेशन तथा अधिवेशन, सचिवालय र कार्यसमिति बैठक, वर्तमान राष्ट्रिय परिस्थिति तथा पार्टीको दायित्वबारे छलफल गर्ने तय गरेको छ । त्यस्तै बैठकमा भोटेकोशी बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माण अभियानको विषयमा पनि छलफल हुने प्रवक्ता ज्वालाले जानकारी दिएका छन् ।









