काठमाडौँ । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको दोस्रो सेमिफाइनलमा भारतले श्रीलंकालाई १२४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ ।
जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा भएको खेलमा भारतले प्रस्तुत गरेको १७० रनको ठूलो लक्ष्य पछ्याएको श्रीलंका दबाबमा परेको थियो ।
भारतले पहिला ब्याटिङ गर्दै भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो । भारतका लागि इशान किशनले उत्कृष्ट ब्याटिङ गर्दै ८० रन बनाएका थिए । भारतका लागि वैभव सूर्यवंशीले ३८ रन बनाएका थिए । १७० रनको लक्ष्य पछ्याएको श्रीलंका भारतीय बलिङसामु टिक्न सकेन । भारतका बलरले नियमित अन्तरालमा विकेट लिएपछि श्रीलंकाको ब्याटिङ क्रम ध्वस्त भएको थियो । अन्ततः श्रीलंका केवल ९.५ ओभरमा ४५ रनमा अलआउट हुदै खेल १२४ रनले हारेको थियो ।
यस जितसँगै भारतले एसियाली खेलकुद पुरुष क्रिकेटको फाइनलमा स्थान सुरक्षित गरेको छ । अब भारतले स्वर्ण पदकका लागि अर्को सेमिफाइनलबाट फाइनल पुगेको पाकिस्तानसँग खेल्ने छ । फाइनल खेल शनिबार हुने छ । त्यस्तै कास्य पदकको खेलमा बंगलादेश र श्रीलंका शनिबार नै खेल्ने छन् ।









