काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहको संसद्मा अनुपस्थितिलाई लिएर प्रश्न उठाउँदै संसदीय मर्यादा र परम्परा पालना गर्न ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै आङ्देम्बेले प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर फर्किए पनि महासभामा भएका गतिविधिबारे संसद्लाई जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले संसद् चलिरहेका बेला प्रधानमन्त्री कहाँ र के काममा व्यस्त छन् भन्नेबारे सदनलाई जानकारी हुनुपर्ने बताउदै प्रमुख प्रतिपक्षी दलले संसद्मा प्रश्न उठाइरहेका बेला प्रधानमन्त्रीको अनुपस्थिति संसदीय मर्यादाअनुकूल नभएको उनको भनाइ थियो ।
आङ्देम्बेले प्रधानमन्त्रीलाई संसद् सरकारको अनुकूलतामा चल्ने संस्था नभएको स्मरण गराउँदै लोकतन्त्रमा नियम र प्रक्रिया सरकारका लागि पनि समान रूपमा लागू हुने बताए । उनका अनुसार संसद्मा बहुमत हुँदैमा शासन सञ्चालनका लागि पर्याप्त नहुने र जनताको विश्वास कायम राख्न संवाद, समन्वय, संस्थागत सम्मान, निर्णय क्षमता र परिणाम आवश्यक हुन्छ ।
सरकारले संसद्, राज्यका तीनै तह, संवैधानिक निकाय, प्रशासन, निजी क्षेत्र र नागरिक समाजलाई साथ लिएर अघि बढ्नुपर्ने उनको भनाइ थियो। संसद्लाई प्रतिस्पर्धी नभई लोकतन्त्रको साझेदार संस्थाका रूपमा बुझ्नुपर्ने उनले बताए ।
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि र फर्किएपछि संसद्लाई जानकारी गराउने विषय केवल परम्परा नभई संसदीय जवाफदेहितासँग जोडिएको आङ्देम्बेले बताए । उनले प्रधानमन्त्रीलाई परम्परा र प्रक्रिया तोड्ने नाममा सरकार आफैं अप्ठ्यारोमा पर्ने अवस्था सिर्जना नगर्नसमेत आग्रह गरे ।
आङ्देम्बेले प्रधानमन्त्री शाहको संसदीय व्यवहारले नयाँ पुस्तालाई कस्तो संसदीय अभ्यास र मर्यादाको सन्देश दिने भन्ने प्रश्नसमेत उठाएका थिए ।









