काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी मंसिर ७ गतेदेखि ‘काठमाडौँ क्लाइमेट एक्सन विक २०२६’ आयोजना गर्ने भएको छ । महानगरपालिकाले इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सनसँगको सहकार्यमा जलवायु परिवर्तन तथा विपद् जोखिम न्यूनीकरणसम्बन्धी सप्ताहव्यापी कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
कार्यक्रमका लागि महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल र इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सनका कार्यकारी निर्देशक सुरज गौतमबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । कार्यक्रममा समुदायदेखि प्राज्ञिक क्षेत्रसम्मका विभिन्न समूहलाई सहभागी गराई जलवायु परिवर्तन र विपद् जोखिम न्यूनीकरणबारे सचेतनामूलक तथा सहभागितामूलक गतिविधि सञ्चालन गरिनेछ ।
कार्यक्रमको मुख्य उद्देश्य जलवायु तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाबीच सहकार्य सुदृढ गर्नु, सहरी वातावरण र विपद् उत्थानशीलताका विषयमा नगरस्तरीय सञ्जाल निर्माण गर्नु तथा बालबालिका, युवा, समुदाय, जोखिममा रहेका वर्ग, अनुसन्धानकर्ता र अन्य सरोकारवालाको सहभागिता बढाउनु रहेको महानगरपालिकाले जनाएको छ ।
कार्यक्रमबारे कार्यवाहक प्रमुख डंगोलले जलवायुको प्राकृतिक स्वरूप जोगाउन परम्परागत ज्ञान, सीप र अनुभवलाई विज्ञानसँग जोड्नुपर्नेमा जोड दिएकी छन् । उनका अनुसार पुर्खाले अभ्यास गर्दै आएको प्राकृतिक स्रोत व्यवस्थापनसम्बन्धी ज्ञानलाई आधुनिक विज्ञान र आवश्यक प्रविधिसँग जोडेर संरक्षण तथा जोखिम न्यूनीकरणका काम अघि बढाउन आवश्यक छ । सहरलाई सुरक्षित र उत्थानशील बनाउन महानगरपालिकामात्र नभई सम्बन्धित क्षेत्रको ज्ञान र क्षमता भएका सबै पक्षको सहभागिता आवश्यक रहेको उनको भनाइ छ ।
इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सनका कार्यकारी निर्देशक गौतमले करिब चार वर्षअघि ‘मेयर्स रिसर्च फेलोसिप’अन्तर्गत गरेको अनुसन्धानबाट प्राप्त सिफारिस कार्यान्वयन गर्ने अवसरका रूपमा कार्यक्रमलाई उपयोग गर्ने बताएका छन् । उनले सन् २०७० मा सहरी योजना आयोगबाट ‘काठमाडौँमा ढुङ्गेधाराको नक्साङ्कन र संरक्षणका सम्भावना’ विषयमा अनुसन्धानका लागि फेलोसिप प्राप्त गरेका थिए ।
सप्ताहव्यापी कार्यक्रममा सहरी बाढी तथा डुबान, अत्यधिक गर्मी, वायु प्रदूषण, जलस्रोतमा बढ्दो चाप, फोहोरमैला व्यवस्थापन, हरियाली क्षेत्रको संरक्षण तथा सांस्कृतिक र पर्यावरणीय सम्पदामाथिको जोखिम न्यूनीकरणका विषयमा नीति संवाद तथा व्यावहारिक कार्यक्रम सञ्चालन गरिनेछ ।
कार्यक्रममार्फत जलवायु उत्थानशीलतालाई महानगरपालिकाको योजना तथा बजेट निर्माण र नीति निर्माण प्रक्रियासँग जोड्ने लक्ष्य राखिएको छ । साथै सम्पदा, परम्परागत ज्ञान, खाद्य प्रणाली र परम्परागत जल प्रणालीको संरक्षण तथा प्रवर्द्धनमा जोड दिइनेछ । कार्यक्रमबाट आगामी दिनमा कार्यान्वयन गर्नुपर्ने प्राथमिकताका विषयमा व्यावहारिक सुझाव र प्रतिबद्धता तयार हुने अपेक्षा गरिएको छ ।
कार्यक्रम महानगरपालिकाका सभा हल, बैठक कक्ष, विद्यालय, खुला क्षेत्र तथा सम्पदा क्षेत्रलगायत विभिन्न स्थानमा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।









