• २०८३ असोज २१ बुधबार

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन छलफलमा मन्त्रालय

टेलिमेडिसिन सेवा प्रभावकारी बनाउन छलफलमा मन्त्रालय

काठमाडौं । टेलिमेडिसिन सेवालाई थप प्रभावकारी, व्यवस्थित र दिगो बनाउने विषयमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले छलफल अगाडी बढाएको छ ।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य मन्त्री निशा मेहतासहित सचिव डा. विकास देवकोटा, विभागका निमित्त महानिर्देशक, पाटन अस्पताल र वीर अस्पतालका प्रतिनिधि तथा उपचारात्मक सेवा महाशाखाका प्रमुखलगायत सहभागी थिए ।

बैठकमा टेलिमेडिसिन सेवा दिगो रूपमा सञ्चालन गर्न आवश्यक बजेट, जनशक्ति र संस्थागत व्यवस्थापनका विषयमा छलफल भएको थियो । सेवाका लागि आवश्यक जनशक्तिको छुट्टै व्यवस्थापन गरी सेवा निरन्तर र प्रभावकारी बनाउने विषयमा पनि जोड दिइएको थियो । त्यस्तै, टेलिमेडिसिनमार्फत प्रदान गरिने सेवाको अभिलेख व्यवस्थित गर्ने, बिरामीका विवरण सुरक्षित राख्ने तथा चिकित्सकीय परामर्शसम्बन्धी जानकारीको व्यवस्थित अभिलेखीकरण गर्ने विषयमा छलफल भएको थियो ।

टेलिमेडिसिन सेवा विस्तारसँगै भविष्यमा आउन सक्ने सम्भावित समस्या र चुनौती पहिचान गरी त्यसको समाधानका लागि पूर्वतयारी गर्नुपर्नेमा पनि बैठकमा जोड दिइएको थियो। विशेषगरी सेवा लिने व्यक्तिको पहिचान प्रमाणीकरणलाई विश्वसनीय र व्यवस्थित बनाउने तथा टेलिमेडिसिन सेवाप्रति नागरिकको विश्वास बढाउने विषयलाई प्राथमिकता दिइएको थियो ।

मन्त्री मेहताले टेलिमेडिसिनलाई प्रविधिमा आधारित सेवाका रूपमा मात्र नभई नागरिकको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्नुपर्ने बताइन् । सेवाको विश्वसनीयता र गुणस्तर कायम गर्न आवश्यक व्यवस्था मिलाउनुपर्नेमा जोड दिँदै उनले नीतिगत, प्राविधिक र व्यवस्थापकीय सुधारसहित आगामी कार्ययोजना अघि बढाउनुपर्ने बताइन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै