रौतहट । रौतहटको लालबकैया नदीमा निर्माणाधीन पुल सञ्चालनको अन्तिम चरणमा पुगेको पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताएका छन् ।
उनका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा ठेक्का सम्झौता भएको पुल पटक–पटक म्याद थप्दा पनि पूरा हुन सकेको थिएन । निर्माण कम्पनीलाई कालोसूचीमा राखेपछि बाँकी कामका लागि २०७९ सालमा पुनः ठेक्का आह्वान गरिएको थियो । तर, पुरानो निर्माण कार्यको जिम्मेवारी स्पष्ट नहुनु र बजेट अभावका कारण काम अघि बढ्न सकेको थिएन ।
मन्त्री लम्सालले समस्या समाधान गरी आवश्यक बजेट व्यवस्थापन गरेपछि निर्माणले गति लिएको बताएका छन् ।
हाल पुलका ६ वटै स्पान, फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको काम सम्पन्न भएको छ । एप्रोच रोड र नदी नियन्त्रणका लागि गरिने काम भने जारी रहेको उनले बताएका छन् ।









