काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको लगानी बोर्डको ६८औँ बैठकले दुईवटा अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा २१ अर्ब १७ करोड रुपैयाँभन्दा बढी लगानी स्वीकृत गर्ने निर्णय गरेको छ ।
बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला जलविद्युत् आयोजनाका लागि १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ र ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ आयोजनाका लागि १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लगानी स्वीकृत गरेको हो ।
बैठकले ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक उत्पादन सुरु गर्ने विषयमा निर्णय गरेको छ । त्यस्तै, ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली आयोजनाको निर्माण परियोजना विकास सम्झौताअनुसार तत्काल अघि बढाउन आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ ।
स्वीकृत आयोजनाको कार्यान्वयन र लगानीकर्तालाई सेवा प्रवाह सहज बनाउन लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार प्रत्यायोजन गर्ने निर्णयसमेत बैठकले गरेको छ । त्यसैगरी, बोर्डले आह्वान नगरेका प्रस्तावलाई आवश्यकताअनुसार प्रतिस्पर्धात्मक स्वीस च्यालेन्ज विधिबाट अघि बढाउन कानुनी व्यवस्था गर्न कार्यालयलाई निर्देशन दिएको छ । कृत्रिम बुद्धिमत्तालगायत नवीन सूचना प्रविधिमा आधारित पूर्वाधार आयोजनाका प्रस्ताव प्राप्त भएमा नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना र आर्थिक विकासमा योगदानका आधारमा प्राथमिकता दिने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा अर्थमन्त्री एवं बोर्डका उपाध्यक्ष डा. स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, कृषिमन्त्री गीता चौधरी, उद्योगमन्त्री दीपककुमार साह, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, मुख्यसचिव गोविन्दबहादुर कार्की, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेललगायत बोर्डका सदस्य तथा उच्च अधिकारीहरूको उपस्थिति थियो ।









