• २०८३ असोज २४ शनिबार

परराष्ट्रमन्त्री खनालको तीन देशको भ्रमणमा के के भयो ?

परराष्ट्रमन्त्री खनालको तीन देशको भ्रमणमा के के भयो ?

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको अस्ट्रेलिया, फिजी र टुभालुको भ्रमण जलवायु परिवर्तनका असरबारे नेपालको आवाज अन्तर्राष्ट्रिय मञ्चमा उठाउने, बाढीपछिको पुनर्निर्माणका लागि सहयोग जुटाउने र द्विपक्षीय सम्बन्ध विस्तार गर्ने विषयमा केन्द्रित भएको छ ।

भ्रमणका क्रममा अस्ट्रेलियाले नेपाललाई बाढीपछिको राहत र पुनर्लाभका लागि थप १५ मिलियन अस्ट्रेलियाली डलर सहयोग घोषणा गरेको छ । यससँगै अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता २६ मिलियन अस्ट्रेलियाली डलर पुगेको छ ।

मन्त्री खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी पूर्वसम्मेलनका उच्चस्तरीय कार्यक्रममा सहभागी भएपछि अस्ट्रेलियाको औपचारिक भ्रमणमा गएका थिए । उनी आगामी नोभेम्बरमा टर्कीको अन्ताल्यामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको तयारीका लागि आयोजित कार्यक्रममा सहभागी भएका हुन् । 

फिजीमा आयोजित उच्चस्तरीय कार्यक्रममा सम्बोधन गर्दै खनालले नेपालका हिमाली क्षेत्र र प्रशान्त महासागरका टापु राष्ट्रहरूले फरक भूगोलमा रहे पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको बताएका थिए । हिमालको हिउँ पग्लिने र समुद्रको सतह बढ्ने समस्या एउटै विश्वव्यापी जलवायु सङ्कटसँग जोडिएको उनको भनाइ थियो ।

उनले आगामी जलवायु सम्मेलनमा विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रति प्रतिबद्ध रहन, जोखिममा रहेका देशलाई ऋणको भार नथपिने गरी अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन र हानि तथा नोक्सानी कोषलाई प्रभावकारी बनाउनुपर्ने माग राखेका थिए ।

नेपालका हिमाली क्षेत्र र समुद्री टापु राष्ट्रबीच ज्ञान, प्रविधि, पूर्वसूचना प्रणाली तथा जलवायु अनुकूलनका क्षेत्रमा सहकार्य गर्न ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारीको अवधारणा पनि उनले अघि सारेका थिए । 

टुभालु भ्रमणका क्रममा मन्त्री खनालले समुद्री कटान, बढ्दो ज्वारभाटा र समुद्रको सतह वृद्धिको जोखिममा रहेका क्षेत्रको अवलोकन गरेका थिए। यसले नेपालको हिमाली क्षेत्रमा देखिएका जलवायुजन्य जोखिम र प्रशान्त क्षेत्रका टापु राष्ट्रले भोगिरहेका समस्याबीचको सम्बन्धलाई उजागर गरेको उनको भनाइ थियो ।

अस्ट्रेलियाको मेलबर्नमा अक्टोबर ८ मा अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वङसँग भएको द्विपक्षीय वार्ताका क्रममा नेपाललाई थप १५ मिलियन अस्ट्रेलियाली डलर सहयोग घोषणा गरिएको थियो । यसअघि आपत्कालीन प्रतिकार्यका लागि घोषणा गरिएको ११ मिलियन डलरसहित कुल सहायता २६ मिलियन अस्ट्रेलियाली डलर पुगेको हो । थप सहयोग बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माण, अत्यावश्यक सेवाको पुनःस्थापना तथा भविष्यमा बाढीको जोखिम र प्रभाव कम गर्न पूर्वसूचना प्रणाली सुदृढ बनाउन उपयोग गरिने अस्ट्रेलियाली पक्षले जनाएको छ ।

वार्ताका क्रममा खनालले नेपालको हिमाली पारिस्थितिक प्रणालीमा जलवायु परिवर्तनले पारिरहेको असरलाई आगामी जलवायु सम्मेलनमा प्राथमिकताका साथ उठाउन अस्ट्रेलियालाई आग्रह गरेका थिए। जलवायु अनुकूलन, विपद् पूर्वतयारी, पूर्वसूचना प्रणाली र जलवायु प्रतिरोधी पूर्वाधार निर्माणमा सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।

नेपाल र अस्ट्रेलियाबीचको सम्बन्धलाई थप विस्तार गर्ने क्रममा दुई देशका मन्त्रीहरूले शिक्षा, व्यापार, लगानी, प्रविधि हस्तान्तरण, नवीकरणीय ऊर्जा, दिगो कृषि, पर्यटन र श्रमसम्बन्धी सहकार्यका सम्भावनाबारे छलफल गरेका थिए। अस्ट्रेलियाका विश्वविद्यालय तथा प्राविधिक र व्यावसायिक शिक्षासम्बन्धी संस्थासँग सहकार्य विस्तार गर्ने, नेपालमा अस्ट्रेलियाबाट मान्यताप्राप्त शैक्षिक कार्यक्रम सञ्चालन गर्ने र नेपाली विद्यार्थीका लागि विद्यार्थी प्रवेशाज्ञा प्रक्रिया न्यायोचित तथा सहज बनाउनुपर्ने विषय खनालले उठाएका थिए। नेपाल र अस्ट्रेलियाबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने प्रस्तावबारे पनि छलफल भएको थियो ।

अस्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका प्रमुख क्रिस मिन्ससँगको भेटमा विपद् व्यवस्थापन, बाढी तथा डढेलोपछिको पुनर्निर्माण, नेपाली समुदायको हित र सिधा हवाई सम्पर्कका विषयमा कुराकानी भएको थियो । त्यस्तै, अस्ट्रेलियामा रहेका नेपाली समुदायका प्रतिनिधि, व्यवसायी, विद्यार्थी तथा प्राज्ञसँगको अन्तरक्रियामा खनालले बाढीपछिको पुनर्निर्माणमा प्रवासी नेपालीको ज्ञान, सीप र प्रविधि उपयोग गर्न आह्वान गरेका थिए ।

भ्रमणका क्रममा उनले क्यानबेरास्थित नेपाली राजदूतावासको निरीक्षण गर्दै राहदानी, प्रमाणीकरणलगायतका कन्सुलर सेवा सहज, छरितो र प्रविधिमैत्री बनाउन निर्देशन दिएका थिए ।

समग्रमा, मन्त्री खनालको भ्रमणबाट बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाको थप सहयोग सुनिश्चित भएको छ भने जलवायु न्याय, हिमाली क्षेत्रको संरक्षण, शिक्षा, व्यापार, लगानी र जनस्तरको सम्बन्ध विस्तारका विषयमा पनि सहकार्य अघि बढाउने आधार तयार भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै