काठमाडौँ । वेस्ट इन्डिजले भारतलाई चौथो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा २४ रनले पराजित गरेको छ । गएराती हैदराबादमा सम्पन्न खेलमा जित निकाल्दै वेस्ट इन्डिजले पाँच खेलको सिरिज २–२ को बराबरीमा ल्याएको हो ।
वेस्ट इन्डिजले दिएको २४८ रनको लक्ष्य पछ्याएको भारत १९.३ ओभरमा अल आउट हुदै २२३ रन बनाएको थियो । भारतका लागि सञ्जु सामसनले २३ बलमा ५६ रन बनाएका थिए भने तिलक वर्माले २५ बलमा ४३ तथा नितिश कुमार रेड्डीले २० बलमा ४१ रन बनाए पनि भारतलाई जिताउन सकेनन् ।
भारतको इनिङ्स ध्वस्त पार्ने क्रममा वेस्ट इन्डिजका केमो पलले ४ ओभरमा ४१ रन खर्चेर ५ विकेट लिए भने गुडाकेश मोतीले २ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २४७ रन बनाएको थियो । टोलीका कप्तान शाइ होपले उत्कृष्ट शतकीय इनिङ्स खेलेका थिए । उनले ५० बलमा अविजित १०२ रन बनाए। उनको इनिङ्समा ४ चौका र ९ छक्का समावेश थिए । त्यस्तै, शेरफेन रदरफोर्डले २६ बलमा अविजित ४९ रन बनाए। शिमरोन हेटमायरले १२ बलमा ३३ तथा कप्तान होपसँग ओपनिङ गरेका ज्वेल एन्ड्र्युले १६ बलमा २१ रन जोडेका थिए ।
भारतका अक्षर पटेल, प्रिन्स यादव र अर्शदीप सिंहले एक–एक विकेट लिए ।
शानदार शतकीय इनिङ्स खेलेका शाइ होप खेलको उत्कृष्ट खेलाडी घोषित भए । उनले यसअघि पनि भारतविरुद्ध शतक बनाएका थिए ।
चौथो खेलमा जित निकालेसँगै वेस्ट इन्डिजले पाँच खेलको सिरिज बराबरी गरेको छ । अब पाँचौँ तथा अन्तिम खेल अक्टोबर १७ मा बेङ्गलुरुमा हुनेछ । उक्त खेल जित्ने टोलीले सिरिज आफ्नो पक्षमा पार्नेछ ।









