• २०८३ कार्तिक १५ आइतबार

बार्सिलोनाको गोलवर्षा, आल्भेसमाथि ६–१ को शानदार जित

बार्सिलोनाको गोलवर्षा, आल्भेसमाथि ६–१ को शानदार जित

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो आल्भेसलाई ६–१ गोलले पराजित गरेको छ ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्दै फराकिलो जित निकालेको हो ।

बार्सिलोनाको जितमा राफिन्हा र लामिन यामालले दुई–दुई गोल गरे भने फर्मिन लोपेज र एन्थोनी गोर्डनले एक–एक गोल गरेका थिए । आल्भेसका लागि मारियानो डियाजले एक गोल फर्काएका थिए ।

खेलको आठौँ मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २३औँ मिनेटमा फर्मिन लोपेजले गोल गर्दै अग्रता दोब्बर बनाए भने ४१औँ मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोना ३–० ले अघि बढ्यो । पहिलो हाफको इन्जुरी समयमा लामिन यामालले गोल थपेपछि बार्सिलोनाले मध्यान्तरसम्म ४–० को आरामदायी अग्रता बनाएको थियो ।

दोस्रो हाफमा पनि बार्सिलोनाको आक्रमण रोकिएन । खेलको ६४औँ मिनेटमा यामालले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता ५–० पुर्‍याए । सुरुमा अफसाइडका कारण गोललाई मान्यता नदिइए पनि भिडियो सहायक रेफ्रीको पुनरावलोकनपछि गोल सदर भएको थियो ।

खेलको ८१औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका एन्थोनी गोर्डनले गोल गर्दै बार्सिलोनालाई ६–० को अग्रता दिलाए । त्यसको तीन मिनेटपछि आल्भेसका मारियानो डियाजले गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

यस जितसँगै बार्सिलोना ११ खेलबाट ३० अंक जोड्दै ला लिगाको शीर्ष स्थानमा फर्किएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडको २८ अंक छ । पराजित आल्भेस १२ अंकसहित तालिकाको १०औँ स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै