काठमाडौं । बलिवुड अभिनेता इमरान खानले ‘एसआईआर’ विरुद्धको विरोध प्रदर्शनमा सहभागी भएको विषयमा बम्बई उच्च अदालतसँग बिनासर्त माफी मागेका छन् ।
उनले आगामी दिनमा यस्ता कुनै पनि प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धतासमेत जनाएका छन् । भारत छाड्न जारी गरिएको सूचना खारेजीको माग गर्दै उनले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै अदालतले माफी र लिखित प्रतिबद्धता मागेको थियो ।
अदालतले डिसेम्बर ७ सम्म इमरानविरुद्ध जारी भारत छाड्ने सूचनाको कार्यान्वयनमा रोक लगाउँदै तत्काल देश छाड्न नपर्ने आदेश दिएको छ ।
अमेरिकी नागरिकता भएका र सन् २००६ देखि भारतको प्रवासी नागरिक कार्ड लिएका इमरानको कार्ड रद्द गर्ने विषयमा समेत छुट्टै सुनुवाइ हुने भएको छ । उक्त मुद्दाको अर्को सुनुवाइ डिसेम्बर ७ मा तोकिएको छ ।
अभिनेता खानले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मुम्बईको अगस्त क्रान्ति मैदानमा भएको प्रदर्शनमा सहभागी भएपछि प्रहरीले इमरानलाई अक्टोबर २८ भित्र भारत छाड्न नोटिस दिएको थियो र त्यसको विरुद्ध उनी अदालतमा गएका थिए ।









