रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–९ खारखोलास्थित मध्यपहाडी लोकमार्गमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
सोमबार बिहान खलङ्गाबाट सिम्ली जाँदै गरेको लु.प्र.०१–००१ ज ६४० नम्बरको जिप र विपरीत दिशाबाट आउँदै गरेको रा.४ प १५२६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक गोविन्द वि.क. र पछाडि सवार काशीराम वि.क. घाइते भएका थिए । घाइतेमध्ये काशीरामको उपचारका क्रममा दिउँसो १: ४५ बजे चौरजहारीस्थित मिसन अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक गोविन्दको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले जिप चालक महेश भण्डारीलाई नियन्त्रणमा लिनुका साथै दुवै सवारीसाधन नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।









