काठमाडौं । निर्माणाधीन तारे होटल तथा रिसोर्टले भन्सार महसुल छुटमा सामान आयात गर्न आवश्यक पर्ने सिफारिस अब अनलाइन प्रणालीमार्फत लिन सकिने भएको छ ।
पर्यटन विभागले नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत भन्सार महसुल छुट सिफारिस सेवा सञ्चालन गर्ने जनाएको हो ।
विभागका अनुसार यसअघि निर्माणाधीन तारे होटल तथा रिसोर्टको स्वीकृत योजनाअनुसार भन्सार छुटमा सामान पैठारी गर्न योजना स्वीकृति र सम्बन्धित भन्सार कार्यालयमा पठाइने सिफारिसको काम भौतिक रूपमा हुँदै आएको थियो। अबदेखि भने उक्त सेवा अनलाइन प्रणालीमार्फत मात्रै सञ्चालन हुनेछ ।
विभागले सम्बन्धित होटल तथा रिसोर्ट सञ्चालकलाई नयाँ व्यवस्थाबारे जानकारी गराउँदै अनलाइन प्रणालीबाटै सेवा लिन आग्रह गरेको छ । प्रणाली प्रयोग गर्दा कुनै प्राविधिक समस्या वा कठिनाइ भएमा आवश्यक सहयोग तथा सहजीकरणका लागि पर्यटन विभाग वा भन्सार विभागमा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
विभागका निर्देशक तथा सूचना अधिकारी सुर्ज घिमिरेद्वारा जारी सूचनामा नयाँ व्यवस्थाले भन्सार महसुल छुट सिफारिस प्रक्रियालाई अनलाइन माध्यमबाट सञ्चालन गर्ने उल्लेख गरिएको छ ।









