काठमाडौं । नेपाली कांग्रेसले गत भदौ १० गतेको आकस्मिक बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका नागरिकको अवस्था बुझ्न छठ पर्वलगत्तै तीनवटै जिल्लाका प्रभावित बस्तीमा पुग्ने निर्णय गरेको छ ।
पार्टी सभापति गगन थापाको उपस्थितिमा शुक्रबार ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बसेको बैठकले प्रभावित क्षेत्रको स्थलगत अवलोकन तथा अन्तरक्रिया गर्ने निर्णय गरेको हो ।
बैठकमा पार्टीका पदाधिकारी, संसदीय दलका नेता, बाढी प्रभावित तीन जिल्लाका केन्द्रीय सदस्य, संघीय सांसद, जिल्ला सभापति तथा स्थानीय जनप्रतिनिधिहरू सहभागी थिए ।
बैठकमा बाढीपहिरोबाट प्रभावित नागरिकको अवस्था, पुनःस्थापना, सार्वजनिक सेवा प्रवाह र पुनर्निर्माणको पछिल्लो अवस्थाबारे जानकारी लिइएको थियो । प्रभावित नागरिकको पीडा र समस्याप्रति पार्टी संवेदनशील रहेको जनाउँदै उनीहरूको जीवन सहज बनाउने, पुनःस्थापना सुनिश्चित गर्ने र पुनर्निर्माण कार्यलाई गति दिन सरकारलाई निरन्तर खबरदारी गर्ने कांग्रेसले जनाएको छ ।
बैठकले प्रभावित परिवारका लागि ‘न्यानो कपडा अभियान’ र ‘मानसिक स्वास्थ्य परामर्श अभियान’ सञ्चालन गर्ने निर्णयसमेत गरेको छ । छठ पर्वलगत्तै प्रभावित गाउँ तथा बस्तीमा पुगेर स्थानीयसँग अन्तरक्रिया गरेपछि पुनःस्थापना र पुनर्निर्माणका लागि पार्टीले लिनुपर्ने पहलकदमी तय गरिने कांग्रेसले जनाएको छ ।
प्रभावित नागरिकलाई आवश्यक सहयोग, सहकार्य र सहजीकरणका कामलाई पार्टीका तर्फबाट प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता पनि बैठकले व्यक्त गरेको छ ।









