काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद (डीपी) अर्यालले भेटवार्ता गरेका छन् ।
शुक्रबार, राष्ट्रपति भवनमा भएको भेटमा संसद्को अधिवेशन आह्वान, संसद् सञ्चालन र अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) अन्तर्गतका कार्यक्रमबारे छलफल भएको हो ।
भेटका क्रममा सभामुख अर्यालले सङ्घीय संसद्ले आयोजना गर्न लागेको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।
त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न अन्तरव्यवस्थापिका सङ्घको १५३औँ महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपत्कालीन प्रस्ताव दुईतिहाइभन्दा बढी मतले पारित भएको विषयमा पनि सभामुख अर्यालले जानकारी गराएका थिए ।
भेटमा संसद्को अधिवेशन आह्वान तथा संसद्लाई नियमित र प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा समेत छलफल भएको थियो । सभामुख अर्यालले राजनीतिक दलहरूसँगको छलफलका क्रममा संसद् सञ्चालन गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी राष्ट्रपति पौडेललाई गराएका थिए ।
यसैगरी, सातवटै प्रदेशका सभामुख, उपसभामुख तथा प्रदेशसभाका अन्य पदाधिकारीसँग राष्ट्रपति र सभामुखबीच सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे पनि उनले जानकारी गराएका थिए ।
भेटका क्रममा राष्ट्रपति पौडेलले संसद्मा धेरै बहस र छलफल हुन सके लोकतन्त्र थप बलियो हुने बताएका थिए ।









