काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन कतारको दोहा जाने भएका छन् ।
मन्त्री तिमिल्सिनासँगै मन्त्रालयका सचिव राजेन्द्रकुमार पौडेल र एक अधिकारी पनि भ्रमणमा सहभागी हुनेछन् ।
नोभेम्बर ७ देखि १३ सम्म हुने महासम्मेलनमा नेपालले अन्तर्राष्ट्रिय दूरसञ्चार संघको उच्च व्यवस्थापन टोली, परिषद् तथा रेडियो नियमावली बोर्डका सदस्य चयनका लागि हुने निर्वाचनमा मतदान गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा मन्त्री तिमिल्सिनाले विभिन्न देशका समकक्षी मन्त्रीहरूसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटमा दूरसञ्चार पूर्वाधार, सेवाको गुणस्तर, डिजिटल पहुँच विस्तार र आधुनिक सञ्चार प्रविधिमा सहकार्यका विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ ।
भ्रमणको मुख्य उद्देश्य अन्तर्राष्ट्रिय दूरसञ्चार नीति निर्माणमा नेपालको सहभागिता बढाउनु र डिजिटल रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्नु रहेको छ ।









