• २०८३ कार्तिक २१ शनिबार

आईफोनमा क्यामेरा र एक्शन बटन एउटै बनाउने तयारी

आईफोनमा क्यामेरा र एक्शन बटन एउटै बनाउने तयारी

काठमाडौँ । एप्पलले आगामी आईफोनका मोडलमा क्यामेरा कन्ट्रोल र एक्शन बटनलाई एउटै बटनमा गाभ्ने तयारी गरेको खबर सार्वजनिक भएको छ । यस्तो परिवर्तन भए प्रयोगकर्ताले क्यामेरा खोल्न र आफूले रोजेको अन्य सुविधा चलाउन एउटै बटन प्रयोग गर्न सक्नेछन् ।

प्रविधिसम्बन्धी जानकारी सार्वजनिक गर्दै आएका इन्स्ट्यान्ट डिजिटलका अनुसार यो सुविधा सन् २०२७ को दोस्रो छमाहीमा सार्वजनिक हुने आईफोनका मोडलमा देखिन सक्नेछ । यद्यपि, एप्पलले यसबारे आधिकारिक पुष्टि गरेको छैन ।

एउटै बटनबाट दुई सुविधा

सार्वजनिक विवरणअनुसार नयाँ बटन एकपटक थिच्दा क्यामेरा खुल्नेछ भने केही समय थिचिराख्दा प्रयोगकर्ताले आफूले रोजेको सुविधा सक्रिय हुनेछ ।

हाल आईफोनमा यी दुई कामका लागि छुट्टाछुट्टै बटन उपलब्ध छन् । एक्शन बटन लामो समय थिच्दा त्यसमा तोकिएको सुविधा सुरु हुन्छ भने क्यामेरा कन्ट्रोल बटन थिच्दा क्यामेरा खुल्छ । नयाँ व्यवस्थामा यी दुवै सुविधा एउटै बटनबाट उपलब्ध गराउने तयारी भएको बताइएको छ ।

किन गाभ्न चाहन्छ एप्पल ?

एप्पलले सन् २०२४ मा सार्वजनिक गरेको आईफोन १६ शृङ्खलामा क्यामेरा कन्ट्रोल बटन समावेश गरेको थियो । यसबारे प्रयोगकर्ताको प्रतिक्रिया भने मिश्रित थियो । केहीले क्यामेरा खोल्न र तस्बिर खिच्न सहज भएको बताएका थिए भने केहीका लागि यसको उपयोगिता खासै महत्त्वपूर्ण बनेको थिएन । त्यसैले एक्शन बटनसँग क्यामेरा कन्ट्रोललाई गाभ्दा यसको उपयोगिता बढ्ने एप्पलको सोच हुन सक्ने अनुमान गरिएको छ । यसले फोनमा भौतिक बटनको सङ्ख्या घटाउनुका साथै डिजाइन र उत्पादन प्रक्रियालाई पनि सहज बनाउन सक्नेछ ।

आईओएस २७ ले पनि सहज बनाउन सक्ने

यो परिवर्तनका लागि आईओएस २७ को अद्यावधिक पनि महत्त्वपूर्ण हुन सक्ने बताइएको छ । हाल क्यामेरा कन्ट्रोल बटन लामो समय थिच्दा भिजुअल इन्टेलिजेन्स सुविधा खुल्छ । तर सार्वजनिक विवरणअनुसार आईओएस २७ मा यसलाई क्यामेरा एपभित्रै सिरी मोडका रूपमा समावेश गर्न सकिने सम्भावना छ ।

त्यसो भए क्यामेरा कन्ट्रोल बटन लामो समय थिच्दा खुल्ने सुविधामा परिवर्तन गर्न सकिनेछ । यसले दुई बटनका काम एउटैमा समेट्न सहज बनाउने अनुमान गरिएको छ ।

फोल्डेबल आईफोनमा छैन छुट्टै एक्शन बटन

एप्पलको पहिलो फोल्डेबल फोन आईफोन डुओमा छुट्टै एक्शन बटन नरहेको तर क्यामेरा कन्ट्रोल भने उपलब्ध रहेको विवरणमा उल्लेख छ । आगामी मोडलमा पनि यही व्यवस्था अपनाइएमा छुट्टै एक्शन बटनको आवश्यकता नपर्न सक्छ । यो नयाँ व्यवस्था सन् २०२७ को दोस्रो छमाहीमा सार्वजनिक हुने आईफोनमा सुरु हुन सक्ने अनुमान गरिएको छ। उक्त समय एप्पलको स्थापनाको २०औँ वार्षिकोत्सवसँग सम्बन्धित आईफोन सार्वजनिक हुने समय पनि हो ।

तर आगामी फोनको नाम आईफोन १९ प्रो, आईफोन २० प्रो वा अन्य के हुनेछ भन्ने स्पष्ट भइसकेको छैन । नयाँ बटन सबै मोडलमा उपलब्ध हुनेछ वा सीमित रूपमा प्रो मोडलमा मात्रै समावेश गरिनेछ भन्ने पनि खुलाइएको छैन ।

सन् २०२३ मा आएको थियो एक्शन बटन

एप्पलले सन् २०२३ मा आईफोन १५ प्रो शृङ्खलामार्फत एक्शन बटन सार्वजनिक गरेको थियो । त्यसअघि आईफोनमा घण्टी र मौन अवस्थाबीच परिवर्तन गर्न छुट्टै स्विच उपलब्ध थियो । एक्शन बटन आएपछि प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार मौन अवस्था, फोकस, टर्च र सर्टकटजस्ता सुविधा राख्न सक्ने व्यवस्था गरिएको थियो। अब यही सुविधा कायम राख्दै भौतिक बटनको सङ्ख्या घटाउने तयारी एप्पलले गरेको हुन सक्ने सार्वजनिक विवरणमा उल्लेख छ ।

यद्यपि, यो परिवर्तनबारे एप्पलले कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन । त्यसैले नयाँ बटन प्रणाली लागू हुने वा नहुने विषयमा कम्पनीको घोषणापछि मात्रै स्पष्ट हुनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै