काठमाडौँ । नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन तथा स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्दै स्वदेशी उत्पादनलाई बजारसँग जोड्ने उद्देश्यले तिहार विशेष रैथाने मेला सुरु भएको छ।
सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले शनिबारदेखि काठमाडौँको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालय परिसरमा तीन दिने मेला आयोजना गरेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सहजीकरणमा आयोजना गरिएको मेलाको उद्देश्य रैथाने उत्पादनको बजारीकरण, स्थानीय उद्यमीलाई प्रोत्साहन तथा परम्परागत खाद्य संस्कृति र उत्पादनको संरक्षण गर्नु रहेको छ ।
मेलामा कृषक, कृषक समूह, कृषि सहकारी संस्था, महिला तथा युवा उद्यमी र स्थानीय उत्पादकले आफ्ना उत्पादनको प्रदर्शनी तथा बिक्रीका लागि विभिन्न कक्ष राखेका छन् ।
मेलामा तिहार विशेष परिकार तथा परम्परागत खाद्य सामग्री, फूल तथा माला, सजावटका सामग्री, परम्परागत पोसाक, हस्तकलाका सामग्री, माटाका भाँडाकुँडा, रैथाने बाली तथा कृषि उपजलगायत स्वदेशी उत्पादनलाई प्राथमिकता दिइएको छ ।
स्थानीय उत्पादनको पहिचान, प्रवर्द्धन र बजारीकरणमार्फत कृषक तथा साना उद्यमीको आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य मेलाले राखेको छ ।









