काठमाडौं । बलिउड अभिनेता सलमान खान अभिनीत बहुप्रतीक्षित चलचित्र ‘मातृभूमि : मे वार रेस्ट इन पिस’ को ट्रेलर सार्वजनिक भएको छ । करिब साढे चार मिनेट लामो ट्रेलरमा सलमान खानलाई भारतीय सैनिकको भूमिकामा एक्सन अवतारमा देखाइएको छ ।
ट्रेलरको सुरुवात चिनियाँ सैनिकहरूबीच भारतीय सेनाबारे भइरहेको कुराकानीबाट हुन्छ । त्यसपछि भारतीय र चिनियाँ सैनिकबीचको द्वन्द्व, सीमामा बढ्दो तनाव र सैनिकहरूले परिवारसँग बिदा मागेर युद्धभूमितर्फ प्रस्थान गरेको दृश्य देखाइएको छ ।
चलचित्रमा भारत र चीनबीचको सीमा तनावलाई मुख्य विषय बनाइएको छ । ट्रेलरमा सलमान खानले आफ्नो पक्षबाट एक गोली पनि नचलाउने संवाद बोलेका छन् । तर त्यसपछि दुवै देशका सैनिकबीच भीषण भिडन्त भएको दृश्य प्रस्तुत गरिएको छ ।
चलचित्रमा सलमान खानकी पत्नीको भूमिकामा चित्रांगदा सिंह देखिएकी छन् । उनले आफ्नो अभिनय र फरक शैलीमार्फत दर्शकको ध्यान खिचेकी छन् । ट्रेलरको अन्त्यमा भने दुवै देशका सैनिकले एकअर्कालाई अभिवादन गरेको दृश्य देखाइएको छ ।
फिल्मको ट्रेलरमा नेपाली अभिनेता अनुप बिक्रम शाही महत्वपूर्ण भूमिकामा देखिएका छन् । फिल्ममा उनले अनुपविक्रमले चिनियाँ सेनाको नेतृत्व गरिरहेको ट्रेलरबाट बुझ्न सकिन्छ ।
अपूर्व लाखियाको निर्देशनमा बनेको चलचित्रमा सलमान खान, चित्रांगदा सिंह, अनुप बिक्रम शाही, मुकेश ऋषि, अंकुर भाटिया र अभिलाष चौधरीलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रका निर्माता स्वयं सलमान खान हुन् भने यो सलमान खान फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो।
यसअघि ‘ब्याटल अफ गलवान’ नाम राखिएको चलचित्रको नाम परिवर्तन गरेर ‘मातृभूमि : मे वार रेस्ट इन पिस’ बनाइएको हो। चलचित्र आगामी डिसेम्बर ४, २०२६ मा प्रदर्शन हुने तय भएको छ। यसअघि अप्रिलमा प्रदर्शन गर्ने तयारी भए पनि दृश्य प्रभाव र निर्माणपछिको काममा ढिलाइ भएपछि प्रदर्शन मिति सारिएको थियो ।
ट्रेलर









