काठमाडौं । अमेरिकी अर्बपति एलन मस्कको कम्पनी स्पेसएक्सको स्टारसिप रकेटको १५औँ परीक्षण उडानमा फेरि प्राविधिक समस्या देखिएको छ ।
परीक्षणमा रकेटको तल्लो भाग सुपर हेभी बुस्टर पृथ्वीमा फर्किने क्रममा प्राविधिक खराबी आएपछि मेक्सिकोको खाडीमा विस्फोट भएको छ ।
बुस्टर नष्ट भए पनि रकेटको माथिल्लो भाग ‘सिप’ भने सफलतापूर्वक पृथ्वीको कक्षमा पुगेको थियो । उडान सुरु भएको करिब २७ मिनेटपछि कक्षमा पुगेको स्टारसिपले स्टारलिङ्कका २६ वटा भूउपग्रह अन्तरिक्षमा तैनाथ गर्न सुरु गरेको कम्पनीले जनाएको छ ।
परीक्षणको मुख्य उद्देश्य रकेटका दुवै भागलाई सुरक्षित रूपमा पृथ्वीमा फर्काएर पुनः प्रयोग गर्ने थियो । यसका लागि टेक्सासस्थित स्टारबेस प्रक्षेपण केन्द्रमा जडान गरिएका दुई विशाल यान्त्रिक हातको सहायताले सुपर हेभी बुस्टर समात्ने योजना थियो । तर प्राविधिक समस्या आएपछि स्वचालित सुरक्षा प्रणालीले उक्त प्रक्रिया रोकेको थियो । त्यसपछि बुस्टरको मार्ग परिवर्तन गरी समुद्रतर्फ पठाइएको थियो ।
स्पेसएक्सले बुस्टरमा आएको खराबीको वास्तविक कारण सार्वजनिक गरेको छैन । कम्पनीले यसअघि तीनवटा परीक्षणमा सुपर हेभी बुस्टरलाई सफलतापूर्वक समातेको थियो । तर माथिल्लो भागलाई भने अहिलेसम्म प्रक्षेपण टावरमा फर्काएर समात्न सकेको छैन ।
स्टारसिप स्पेसएक्सको महत्त्वाकाङ्क्षी परियोजना हो । यसमार्फत स्टारलिङ्क इन्टरनेट सञ्जाल विस्तार गर्नुका साथै अमेरिकी अन्तरिक्ष निकाय नासाको आर्टेमिस अभियानअन्तर्गत सन् २०२८ सम्म मानवलाई चन्द्रमामा पुर्याउने लक्ष्य राखिएको छ । तर अन्तरिक्षमै इन्धन भर्ने र रकेटका दुवै भाग पुनः प्रयोग गर्ने प्रविधि विकास गर्नु कम्पनीका लागि अझै ठूलो चुनौती बनेको छ ।
नासाका प्रशासक जेरेड आइज्याकम्यानले परीक्षण उडानपछि स्पेसएक्सलाई बधाई दिँदै आगामी आर्टेमिस–३ अभियानमा स्टारलिङ्कको प्रविधि प्रयोग गर्ने विषयमा उत्साह व्यक्त गरेका छन् ।









