काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणलाई लक्षित गर्दै नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षीसँगको भेटवार्तामा सिंगो राष्ट्र आफ्नो साथमा रहेको सन्देश लिएर जानुपर्ने बताए ।
उनले महत्वपूर्ण विदेश भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक दलका नेता तथा विज्ञहरूसँग छलफल गरेर राष्ट्रिय सहमति निर्माण गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने धारणा राखेका छन् ।
पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘प्रधानमन्त्रीजी भारतीय समकक्षीसँग कुरा गर्दा सिङ्गो राष्ट्र आफ्नो साथमा छ भन्ने कुराको सन्देश लिएर जानसक्नुहोस् । त्यसका लागि विगतमा जुन निरन्तर परम्परा रहँदै आएको छ । यस्ता महत्वपूर्ण भ्रमण अगाडि पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू, विज्ञहरूसँग सुझावहरू लिने एक खालको राष्ट्रिय सहमति निर्माण गर्ने एजेन्डाहरूमा र त्यही सहमतिको बलमा,सहमतिको स्ट्रेन्थ बोकेर वार्ताको टेबुलमा जाने विगतको यो राम्रो परम्परा रहेको छ, त्यो कायम होस ।’
राष्ट्रिय सहमतिका आधारमा वार्तामा प्रस्तुत हुँदा प्रधानमन्त्रीलाई थप सामर्थ्य प्राप्त हुने उनको भनाइ छ । यद्यपि, वर्तमान प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैली हेर्दा सबै पक्षसँग संवाद हुनेमा आफूलाई आशंका रहेको पनि उनले बताए । उनले प्रधानमन्त्री बालेनलाई भारतसँगको वार्तामा कुनै हीनताबोध नराखी सार्वभौम राष्ट्रको प्रतिनिधिका रूपमा आत्मविश्वासका साथ प्रस्तुत हुन आग्रह गरे ।
उनले भने- 'आत्मविश्वासका साथ भारतीय प्रधानमन्त्रीसमक्ष प्रस्तुत हुनुहोस् भन्ने हाम्रो आग्रह छ । देशहरू ठूला होलान्, साना होलान्, साइज, जनसंख्या, अर्थतन्त्रको आकारको हिसाबले तर वार्ताको टेबुलमा बस्दा दुईवटा सार्वभौम राष्ट्रका प्रधानमन्त्रीहरू बस्छन् । त्यस बारेमा कुनै पनि हीनताबोध नगरिकन एउटा दरिलो आत्मविश्वासका साथ त्यहाँ प्रस्तुत हुन जरुरी हुन्छ ।'
ज्ञवालीले नेपाल–भारतबीचका समस्यालाई लुकाएर वा पन्छाएर सम्बन्ध बलियो नहुने भन्दै सीमा विवादलगायतका विषय खुलस्त रूपमा उठाउनुपर्ने बताए । समस्या समाधानका लागि यसअघि नै तय भएका कूटनीतिक संयन्त्रलाई सक्रिय बनाउनुपर्नेमा पनि उनले जोड दिए ।
पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीका अनुसार सीमा समस्याका लागि दुवै देशका परराष्ट्र सचिवस्तरीय संयन्त्र बनाउने निर्णय सन् २०१४ मै भएको थियो । त्यस्तै, सन् १९५० को सन्धिका कतिपय प्रावधान संशोधन गर्नुपर्ने र वाणिज्य सन्धि पुनरावलोकन गर्नुपर्ने विषय पनि लामो समयदेखि उठ्दै आएका छन् । यी विषयमा बनेका संयन्त्रलाई सक्रिय बनाएर समाधानतर्फ अघि बढ्नुपर्ने उनले बताए ।
त्यसैगरी, ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणमा विगतका विवाद र समस्यामा मात्रै केन्द्रित नभई भविष्यमा नेपाल र भारतबीच बलियो आर्थिक साझेदारी कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयलाई पनि प्राथमिकता दिनुपर्ने बताए । उनले पञ्चेश्वर परियोजना तीन दशकदेखि अघि बढ्न नसकेको तथा पश्चिम सेती, अपर कर्णाली, पोकेट कर्णाली र तल्लो अरुणजस्ता जलविद्युत् परियोजनामा अपेक्षित प्रगति हुन नसकेको विषय उठाउनुपर्ने बताए ।









