काठमाडौं । नेकपा एमालेको बुधबारदेखि जारी राष्ट्रिय भेला आज सकिदैछ ।
बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी भेलाको दोस्रो दिन आज अध्यक्ष केपी शर्मा ओलीले 'आजका २ कार्यभार र गर्नुपर्ने १५ काम' का सम्बन्धमा, वरिष्ठ नेता विद्यादेवी भण्डारीले 'पार्टीमा नयाँ ऊर्जा, उत्साह र आत्मविश्वास सिर्जना गर्ने सङ्कल्प गरौं' विषयमा र उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले 'राष्ट्रिय स्वाधीनता, लोकतन्त्र तथा समृद्धिका सङ्कल्प गरौं' विषयमा सम्बोधन गर्ने केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन् । आजको कार्यक्रम बिहान ८ बजेदेखि सुरु हुने उनले बताए । भेलामा समसामयिक प्रस्तावहरू पारित गर्ने र दिवा भोजनपछि राष्ट्रिय भेलाको समापन हुने कार्यतालिका रहेको छ ।
त्यस्तै आजै दिउँसो ३ बजेदेखि कार्की ब्याङ्क्वेटमा पार्टी केन्द्रीय कमिटीको चौथो बैठक बस्ने आचार्यले जानकारी दिएका छन् ।
यसअघि बुधबार भेलाको ओलीले उद्घाटन गरेका थिए भने बन्दसत्रमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले कार्यपत्र प्रस्तुत गरेका थिए ।
भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुने करिब ३५ सय प्रतिनिधि सहभागी रहेका छन् ।









