• २०८३ मङ्सिर ६ आइतबार

राष्ट्रपति पौडेल कनक चैत्य महाविहारमा आयोजित धार्मिक अनुष्ठानमा सहभागी

राष्ट्रपति पौडेल कनक चैत्य महाविहारमा आयोजित धार्मिक अनुष्ठानमा सहभागी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल काठमाडौँको जनबहालस्थित आर्यावलोकितेश्वर करुणामय श्री कनक चैत्य महाविहारमा आयोजित तीनदिने आयुताहुति होम तथा शान्ति स्वस्ति पाठमा सहभागी भएका छन् ।

मंसिर ३ गतेदेखि ५ गतेसम्म सञ्चालन भएको धार्मिक अनुष्ठानको अन्तिम दिन शनिबार राष्ट्रपति पौडेलले विधिपूर्वक पूजाआराधना तथा दर्शन गरेका थिए । अनुष्ठानमा शाक्य–बज्राचार्य गुरुहरूबाट विशेष शान्ति स्वस्ति पाठ, पूजा तथा अग्निहोम गरिएको थियो ।

सो अवसरमा उर्जामन्त्री विराजभक्त श्रेष्ठ पनि सहभागी थिए । 

श्री आर्यावलोकितेश्वर सुधार समूहको आयोजनामा भएको महायज्ञको उद्देश्य विश्वशान्ति, प्राकृतिक विपत्ति नहोस् भन्ने कामना, लोककल्याण तथा सम्पूर्ण प्राणी जगतको सुख, शान्ति र समृद्धिको कामना गर्नु रहेको आयोजकले जनाएको छ ।

वज्रयान बौद्ध परम्पराअनुसार संकल्प पूजा, रत्नमण्डल, कलश पूजा, अष्टमंगल पूजा, सुकुन्दा पूजा, ध्यान, जप, सूत्रपाठ र अग्निहोमलगायतका धार्मिक विधि महायज्ञमा समावेश गरिएको थियो ।

सेतो मच्छिन्द्रनाथको प्रमुख धार्मिक स्थलका रूपमा परिचित कनक चैत्य महाविहार बौद्ध र हिन्दू दुवै धर्मावलम्बीको आस्थाको केन्द्र हो । यहाँ आयोजित धार्मिक कार्यक्रमले काठमाडौँको मौलिक बौद्ध परम्परा, सांस्कृतिक सम्पदा र धार्मिक सहिष्णुताको संरक्षण तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै