काठमाडौं । पूर्वमुख्यसचिव एकनारायण अर्याललाई भारतको कोलकत्ताबाट पक्राउ गरी काठमाडौं ल्याइएको छ । विहिबार उनलाई स्थलमार्ग हुँदै नेपाल प्रवेश गराएपछि हवाईमार्गबाट काठमाडौं ल्याइएको हो ।
विमानस्थलबाट उनलाई सिधै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको थियो । अहिले अनुसन्धानका लागि म्याद थप गर्न जिल्ला अदालत काठमाडौं लैजाने तयारी गरिएको छ ।
अर्यालमाथि मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणलगायतका नाममा अतिरिक्त रकम असुली गर्ने प्रकरणमा संलग्न रहेको आरोप छ । यही प्रकरणमा ठगी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।
अर्यालमाथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सचिव हुँदा मलेसिया जाने नेपाली श्रमिकबाट स्वास्थ्य परीक्षणलगायतका नाममा अतिरिक्त रकम असुली गरी मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप छ । यही प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
यसअघि यही प्रकरणमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, तत्कालीन श्रमसचिव विनोद केसीसहित मन्त्रालयका उच्च अधिकारी तथा निजी क्षेत्रका व्यक्तिहरू गरी १० जना पक्राउ परिसकेका छन् ।









