Skip This
  • २०८३ मङ्सिर ११ शुक्रबार

आन्तरिक विवाद सकियो, अब स्थानीय चुनावको तयारीमा जुटौँ- महामन्त्री संग्रौला

आन्तरिक विवाद सकियो, अब स्थानीय चुनावको तयारीमा जुटौँ- महामन्त्री संग्रौला

ललितपुर । नेपाली कांग्रेसकी महामन्त्री डा. डिला संग्रौला पन्तले पार्टीको आधिकारिकतासम्बन्धी विवाद समाप्त भएकाले अब आगामी स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न नेता तथा कार्यकर्तालाई आह्वान गरेकी छन् ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै उनले निर्वाचन आयोगले पार्टीको विधानसम्मत विवरण र आधिकारिकता अद्यावधिक गरेपछि लामो समयदेखिको आन्तरिक विवाद अन्त्य भएको बताइन् । अब पार्टीभित्र अलमलिनुपर्ने अवस्था नरहेको उनको भनाइ थियो ।

संग्रौलाले देशभरका ६ हजार ७४३ वटै वडा र बुथ तहसम्म कांग्रेस आधिकारिक रहेको सन्देश पुर्‍याउनुपर्ने बताइन्। उनले ‘हामी तयार छौँ’ अभियानलाई संगठन निर्माणसँग जोड्दै बुथ समिति अद्यावधिक, क्रियाशील सदस्यता नवीकरण र ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन् ।

आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै उनले स्वच्छ छवि र लोकप्रिय उम्मेदवार छनोटको आधार अहिलेदेखि नै तयार गर्नुपर्ने बताइन्। पार्टीको आधिकारिक निर्णयविरुद्ध बागी उम्मेदवारी दिने र असहयोग गर्नेहरूलाई कारबाहीको सन्देश तल्लो तहसम्म पुर्‍याउनुपर्ने उनको भनाइ थियो। विगतमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिले गरेका कामको प्रचार गर्दै आगामी पाँच वर्षको स्पष्ट योजना लिएर जनतामाझ जान पनि उनले आग्रह गरिन् ।

बैठकमा संग्रौलाले प्रधानमन्त्री बालेन नेतृत्वको सरकारका गतिविधि लोकतान्त्रिक मूल्य र विधिको शासनविपरीत रहेको आरोप लगाउँदै आलोचना गरिन् । उनले सञ्चारमाध्यमको कार्यालयमा धरपकड, प्रहरी अनुसन्धानमा हस्तक्षेप र प्रधानमन्त्रीका सल्लाहकारले अनुसन्धानका लागि लिइएको मोबाइल फोन लगेका घटनाप्रति आपत्ति जनाइन् ।

त्यस्तै, नेपालको राष्ट्रिय सार्वभौमसत्तासँग जोडिएको चुच्चे नक्सा र प्रबुद्ध व्यक्ति समूह (ईपीजी) प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा सरकार विचलित भएको उनको आरोप थियो। यस विषयमा संसद् र सडक दुवैबाट आवाज उठाउनुपर्ने उनले बताइन् ।

संग्रौलाले भोटेकोशी, त्रिशूली र बूढीगण्डकी क्षेत्रका बाढीपहिरो प्रभावित नागरिकको पुनर्वास, सुरक्षित आवास र दीर्घकालीन जीविकोपार्जनको व्यवस्था गर्न पनि सरकारसँग माग गरिन्। विस्थापित तथा भूमिहीन सुकुम्बासीको समस्या राजनीतिक लाभका लागि नभई मानवीय मर्यादा र सामाजिक न्यायका आधारमा समाधान गर्नुपर्ने उनको भनाइ थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै