• २०८१ बैशाख १८ मंगलबार

पाटनको भीमसेनको मन्दिर पुनःनिर्माण

kharibot

ललितपुर । विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार उत्तरतर्फको भीमसेनको मन्दिर ललितपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा पुनःनिर्माण हुने भएको छ ।

विनाशकारी भूकम्पले क्षगिग्रस्त बनाएको धार्मिक र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिएको यो मन्दिर भूकम्प गएको साढे तीन वर्षपछि पुनःनिर्माण हुन लागेको हो ।

भारतीय सरकारको आर्थिक सहयोगमा नेपाल सरकारले निर्माण गर्ने सम्झौता भएको तीन वर्ष बित्दासमेत काम अघि नबढेकाले स्थानीय व्यापारी र टोल सुधार समिति आफैँले मन्दिर निर्माणमा केही समयदेखि चासो देखाएका उक्त सङ्घका अध्यक्ष कृष्णलाल महर्जनले बताए ।

केही दिन पहिले मन्दिरको पुनःनिर्माणको जिम्मेवारी स्थानीयवासीले नै लिने भन्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनसहितको टोली दूतावास पुगेको थियो । स्थानीयवासीले बनाउँदा भारत सरकारलाई आपत्ति नहुने दूतावासको प्रतिक्रिया आएको उनले जानकारी दिए । भारतीय सहयोगमै पुनःनिर्माणका लागि सबै प्रक्रिया पुर्याउँदा पनि १४-१५ महिनाअघि पुनःनिर्माण हुन सक्ने अवस्था नरहेको र छिटै पुनःनिर्माण नहुँदा थप भौतिक क्षति हुनसक्ने सम्भावना रहेको उनले बताए ।

क्षतिग्रस्त मन्दिरका कारण स्थानीयवासी र सवारी साधन चालकले समेत दैनिक कष्टकर यात्रा गर्न बाध्य छन् । उत्तरी भागमा काठले मन्दिरलाई अड्याइएको छ । सवारी साधन आगमन र यात्रुको आवतजावत धेरै हुने यो सडकमा काठका कारण यात्रु सजिलै हिँड्न नसकेको स्थानीयवासी सतिश महर्जनले बताए । साना नानी यही सडक भएर विद्यालय जान्छन् । उनले भने, “मन्दिर बनाउन ढिला गर्दा दुर्घटनासमेत हुन सक्छ ।”

मन्दिर भत्काउनु अघि गत मङ्गलबार क्षमापूजा गरिएको थियो । मन्दिर कुन तलासम्म र कुनकुन भाग बनाउने टुङ्गो लगाएर मात्रै काम थालिने र मन्दिरमा भएका कलात्मक वस्तुको विवरण पनि तयार गरिने भएको छ ।

मन्दिर कसरी बनाउने भन्ने अन्तिम टुङ्गो लाग्न बाँकी रहेको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताए । मन्दिर जीर्ण बन्दै गएकाले पनि स्थानीयवासीले भीमसेन मन्दिर चाँडो निर्माण होस् भन्ने चाहेका छन् ।

उक्त सङ्घको अगुवाइमा ललितपुर महानगरपालिका, मङ्गल टोल सुधार सङ्घलगायत पाटनका सम्पूर्ण जातीय सङ्घ, अन्य व्यावसायिक सङ्घसमेत मन्दिर पुनःनिर्माणका लागि सहभागी भएका र यसका लागि रु चार करोड ८१ लाख लाग्ने अनुमान गरिएको छ ।

मल्लराजा श्रीनिवास मल्ले विसं १६८० मा निर्माण गरेका यो मन्दिर तीन तलाको छ । भीमसेनलाई र बहादुर र बलवान् देवताका रूपमा पुजिन्छ । यो मन्दिरलाई नेपाली वास्तुकलाको उत्कृष्ट नमूना मानिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै