काठमाडौं । श्रीकृष्ण प्रणामी युवा परिषद्को १२औँ राष्ट्रिय अधिवेशन शनिबारबाट काठमाडौँको गोठाटारस्थित श्रीकृष्ण प्रणामी मन्दिरबाट सुरु भएको छ ।
शनिबार अर्थमन्त्री डाक्टर युवराज खतिवडाले उद्घाटन गरेका हुन् । सो क्रममा मन्त्री खतिवडाले सेवालाई धर्मसँग जोडेर हेर्न आग्रह गरेका थिए । कार्यक्रममा श्रीकृष्ण प्रणामी युवा परिषद्का अध्यक्ष मातृका प्याकुरेलले नेपालमा ४२ प्रतिशत युवाहरु केही न केही कुलतमा फस्ने गरेकाले युवालाई मार्गदर्शन गर्न आफूहरुले शाहाकारी अभियान चलाएको बताए ।
कार्यक्रममा मन्त्री खतिवडाले वरिष्ठ भजन गायक माधवलाल श्रेष्ठ, हरिहर फुँयाल र श्रीकृष्ण प्रणामी युवा परिषद्का पूर्वअध्यक्ष भोला दाहाललाई अभिनन्दन तथा पुरस्कार वितरण गरेका थिए ।
मन्त्री खतिवडाले १०८ महाराज अमृत राजले श्रीकृष्ण युवा परिषदको १२ राष्ट्रिय अधिवेशनको स्मारिका समेत विमोचन गरेका थिए । आइतबारसम्म चल्ने अधिवेशनले अध्यक्षसहित नयाँ नेतृत्व समेत चयन गर्नेछ । अधिवेशनमा परिषद्का केन्द्रीय पदाधिकारीहरु, पर्यवेक्षकहरुलगायत देशैभरका परिषद्का जिल्ला शाखाका प्रतिनिधिहरु सहभागी भएका छन् ।
२०४७ सालमा स्थापना भएको श्रीकृष्ण युवा परिषद्ले हालसम्म नेपालका ५५ जिल्लामा शाखा स्थापना गरिसकेको छ ।