मुम्बई। बलिवुड फिल्म 'स्त्री' भारतीय बक्स अफिसमा शानदार व्यापार गर्दै सय करोड क्लबमा प्रवेश गरेको छ । करिब २५ करोड बजेटमा बनेको यो फिल्म यस बर्षको सुपरहिट फिल्म बनेको छ।
स्त्री ले पहिलो साता ६०.३९ करोड, दोस्रो साता ३५.१४ करोड व्यापार गर्दै दुई सातामा कुल ९५.५३ करोड व्यापार गरेको थियो। त्यस्तै तेस्रो साताको शुक्रबार २.१४ करोड र शनिबार ३.७६ करोड व्यापार गर्दै कुल १०१.४३ करोड व्यापार गरेको छ।
फिल्म स्त्री यस बर्ष सय करोडको व्यापार गर्ने नवौ फिल्म बनेको छ। यस बर्ष फिल्म पद्मावती, सोनुकि टिटुकी स्विटी, रेड, बागी-२, राजी, रेस-३, सन्जु, गोल्डले सय करोडभन्दा धेरैको व्यापार गरेका छन्।
राजकुमार रावको बलिवुड क्यारियरलाई थप मजबुत बनाएको छ भने लगातार फिल्म फ्लप भएर क्यारियर नै धरापमा परेकी अभिनेत्री श्रद्धा कपुरका लागि पनि ठुलो राहत भएको छ। श्रद्धाका यस अघि, रक अन २, हसिना पार्कर, ओके जानु फ्लप भएका थिए।