• २०८१ बैशाख १६ आइतबार

फ्राइडे रिलिज : कथा काठमाडौँ, अनुराग र छिरिङ एकआपसमा भिड्दै 

kharibot

काठमाडौँ। आज शुक्रबार नेपाली बक्स अफिसमा तीन चलचित्रहरु रिलिज भएका छन् । कथा काठमाडौँ, अनुराग र छिरिङ आज एक आपसमा भिडन्त गर्दै छन्। 

इन्टिमेट सिनका कारण विवादमा परेकी प्रियंका कार्कीको कथा काठमाडौँसहित पत्रकार ऋषि धमलाले निर्माण गरेको र उनकी पत्नी एलिजा गौतमले अभिनय गरेको फिल्म अनुराग विशेष चर्चामा रहेका छन् भने गायक यश कुमारले निर्देशन तथा अभिनय गरेको फिल्म छिरीङलाई भने अलग्गै फिल्मको रुपमा हेरिएको छ।  

चलचित्रलाई टेलिभिजन कार्यक्रमबाट फिल्म निर्देशनमा गएकी संगीता श्रेष्ठको निर्देशन रहेको छ । काठमाडौँमा रहेका ३ जोडीको जिवनमा आइ परेका समस्या र संघर्षका कथालाई चलचित्रमा उतार्ने प्रयास गरिएको छ । चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी, सञ्जोग कोइराला, सन्ध्या केसी, आयुष्मान देशराज जोशी, प्रेक्षा अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा छायांकन लुज सिंहको रहेको छ भने सम्पादन मित्र गुरुङले गरेका छन् । विजय राईको लगानी रहेको चलचित्र आजबाट अल नेपाल प्रदर्शनमा आएको छ । 

यस्तै आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र हो अनुराग । पत्रकार ऋषि धमलाको प्रस्तुती रहेको चलचित्र अनुराग पनि चर्चामा रहेको छ । ‘अनुराग’को आधिकारिक ट्रेलर सार्वजनिक भए सँगै चलचित्र चर्चामा आएको थियो । चलचित्रमा अभिनेता समुन्द्र पण्डित र अभिनेत्री एलिजा गौतमले डेव्यू गरेका छन् । 

एलिजा गौतम पत्रकार ऋषि धमलाकी पत्नी हुन् । समुन्द्र पण्डित चलचित्र अनुरागमा गायकको भुमिकामा प्रस्तुत भएका छन् ।  चलचित्रकी मुख्य अभिनेत्री एलिजा गौतम पनि संगीतमा रुचि राख्ने गर्छिन् र उनी  रागकहाँ संगीत सिक्न पुग्छिन् । 

एरिका फिल्म्स प्रोडक्शनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत रहेको छ ।  चलचित्रका गीतमा सत्यराज चौलागाईँ र ममता गुरुङको शब्द रहेका छन् ।

चलचित्रमा एलिस कार्कीको ब्याकग्राउण्ड स्कोर, पारु अधिकारीको कस्ट्युम, विक्रम स्वाँर र  प्रविण सिंहको कोरियोग्राफी,  शानथापा र विजय बस्यालको पब्लिसिटी डिजाईन किरण दाहालको कथा रहेको छ ।

सत्यराज चौलागाईँको  निर्देशन रहेको यस चलचित्रलाई गीता भेटुवालले निर्माण गरेकी हुन् । यो चलचित्रले विषेश त पत्रकार ऋषि धमलाका कारण पनि राम्रै चर्चा पाएको छ ।

आजैबाट प्रदर्शनमा आएको तेस्रो चलचित्र हो ‘छिरिङ’ । चलचित्र गायक तथा नायकद्वय यश कुमार र निमा रुम्बाका कारण चर्चामा छ  । चलचित्रमा गायक तथा नायक द्वय यशकुमार र निमा रुम्बाका साथ कामना भुजेल नायिकाको रुपमा प्रस्तुत भएकी छिन् । चलचित्रले हिजो मात्र प्रिमियर सो को आयोजना गरेको थियो । सोबाट राम्रै वर्ड अफ माउथ पाएका कारण गायक तथा नायक यशकुमार र निमा रुम्बा उत्साहित छन् ।

उपल्लो मुस्ताङको कथावस्तुलाई दर्शाएको चलचित्रले त्यहाँ चल्तीमा रहेको बहुपति प्रथाको कथाको प्रस्तुतिकरण गर्छ । अविकसीत गाउँका कारण आइ पर्ने भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व चलचित्रको कथा वस्तुमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । ‘छिरिङ’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन रहेको छ । 

चलचित्र ‘छिरिङ’ यश कुमार कै निर्देशन रहेको छ ।  सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यशकुमार र याम थापाले मिलेर लेखेका हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै