• २०८१ बैशाख १८ मंगलबार

भक्तपुरमा फेरी टिप्पर आतंक : मोटरसाइकल चालकको मृत्युपछि तनाव, १५ सेल अश्रुग्यास प्रहार

kharibot

स्थानीयले आगो लगाई दिएको टिपर । तस्बिर : रमेश गिरी, भक्तपुर, रासस

भक्तपुर। भक्तपुर सूर्यविनायकस्थित पाण्डु बजारमा बुधबार साँझ टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । 

मृत्युहुनेमा काभ्रेपलाञ्चोक नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ । काभ्रेपलाञ्चोकबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख ३६५० नंको टिपरले सोही दिशातर्फ जाँदै गरेको बा८८प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । 

प्रहरी परिसर भक्तपुरका अनुसार साँगाबाट ६ बजे छुटेर तीव्र गतिमा आएको टिपरले मोटरसाइकललाई ठक्कर दिएर टिपरका चालक फरार भएको हो । ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आक्रोसित भीडले टिपरमा आगो लगाइदिएर ध्वस्त बनाइदिएका छन् । डेढ घण्टासम्म पनि आगो नियन्त्रणमा आएको थिएन । 

आगो नियन्त्रणका लागि आएका प्रहरीले भीड हटाउन खोज्दा आक्रोसित भीडले नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको स्थानीय हरिशरण थापाले बताए । प्रहरीको लाठीचार्जबाट आक्रोसित भीडले ढुङ्गाहानेपछि सूर्यविनायक क्षेत्र राति ८ः३० बजेसम्म तनावग्रस्त बनेको थियो । 

आगो नियन्त्रण गर्न आएको दमकललाई समेत भीडले ढुङ्गा हानेर तोडफोड गरेपछि प्रहरीले भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ । स्थानीयका अनुसार प्रहरीले १५ सेलभन्दा बढी अश्रुग्यास प्रहार गरेको हो । राति ८ः३० बजेसम्म अश्रुग्यास हानेर भीड तितरवितर बनाएपछि दमकलले आगो निभाएको थियो । 

घटनामा प्रहरीको व्यापक लापर्वाही 

घटनालाई शान्तिपूर्णरुपमा नियन्त्रणमा लिन सकिने भए पनि प्रहरीको लापर्वाहीका कारण सूर्यविनायक क्षेत्र तनावग्रस्त बनेको स्थानीय बासिन्दाले बताएका छन् । प्रहरीले राति घर जान लागेका, पसल सञ्चालन गरेको व्यापारीदेखि सुत्केरी महिला समेतलाई अन्धाधुन्दा लाठीचार्ज गरेको स्थानीयले बताएका छन् । 

स्थानीय प्रत्क्षयदर्शी सावित्री पोखरेलले प्रहरीले बच्चा बोकेको सुत्केरी महिलालाई समेत लाठी प्रहार गरेको बताईन । उनले भनिन्, “ढुङ्गा हान्ने भागे, सोझा र निर्दोषमाथि प्रहरीले लाठी र अश्रुग्यास बर्सायो, टाढाटाढा घर जानेको कन्तबिजोग बनायो, धेरै घाइते भए ।” 

प्रहरीले घरको छतछतमा समेत अश्रुग्यास हानेको स्थानीय सुरेन्द्र बोगटीले जानकारी दिए । उनका अनुसार प्रहरीको लापर्वाहीका कारण स्थानीयदेखि घर जान हिँडेका नागरिकसमेत निकै दुःख पाएको बताए । 

आक्रोसित भीडले गरेको ढुङ्गा प्रहारका कारण दमकल तोडफोड हुनुका साथै दमकलका कर्मचारीसमेत घाइते भएको र केही प्रहरी घाइते भएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । प्रहरीको लाठीचार्ज र अश्रुग्यासबाट कति घाइते भए भन्ने यकिन तथ्याङ्क नआए पनि जिल्लामा विभिन्न अस्पतालमा घाइतेको उपचार भइरहेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए । 

दिउँसै चल्यो टिपर 

भक्तपुरमा आज दिउँसो १२ बजेदेखि नै टिपर सञ्चालनमा आएको स्थानीय बासिन्दा बताउँछन् । स्थानीय सञ्जय श्रेष्ठले यसअघि सागाबाट ६ बजे टिपर आउने गरे पनि आज प्रहरी प्रशासनकै मिलेमतोमा टिपर १२ बजेदेखि सञ्चालनमा आएको स्थानीयको आरोप छ । 

सरकारको निर्णयविपरीत दिउँसो टिपर सञ्चालन गर्न दिएको भन्दै स्थानीयले प्रहरी र प्रशासनप्रति आक्रोस व्यक्त गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै