काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले गत साउन १० गते कञ्चनपुर जिल्लाको उल्टाखाममा बलात्कारपश्चात् हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको घटनाका सम्बन्धमा वैज्ञानिक अनुसन्धान गर्नुपर्ने ठहर गरेको छ ।
आयोगको प्रदेश कार्यालय धनगढी र केन्द्रीय कार्यालयको टोली समेतले अनुगमन÷अनुसन्धान गर्दै उक्त ठहर गरेको हो ।
अनुगमनपछि आयोगले उक्त घटनाको सम्बन्धमा वैज्ञानिक तथा प्रभावकारी अनुसन्धान गरी दोषी पत्ता लगाउनुपर्ने बताएको छ ।
आयोगले राष्ट्रिय मानवअधिकार आयोग ऐन २०६८ को दफा ४(१) बमोजिम नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आजै ८ बुँदाको निर्देशनसहित पत्राचार गरेको जानकारी दिएको छ ।
बलात्कार एवं हत्याको घटना घटिसकेपछि अनुसन्धानलाई उच्च प्राथमिकता दिई कार्य गर्नुपर्ने, नेपाल प्रहरीले गरेको अनुसन्धानमा सूक्ष्मतम वैज्ञानिक परीक्षण र विश्वसनीयता नहुँदा आममानिस तथा पीडित परिवारमा बढेको निराशा र विश्वसनीयतालगायतका विषयहरु पत्रमा उल्लेख गरिएको जनाइएको छ ।