• २०८१ बैशाख १७ सोमबार

श्रीपेच उद्घाटन प्रधानमन्त्रीले गर्नैपर्ने हो त ?

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नारायणहिटी राजदरबारमा गोप्य रुपमा राखिएको राजमुकुट (श्रीपेच) सार्वजनिक गरे । ठूलै विकासे ‘प्रोजेक्ट’ उद्घाटन गरेजसरी प्रधानमन्त्री आफैँ उपस्थित भएर श्रीपेच सार्वजनिक गरिएको यस घटनाले समाजका बौद्धिक वर्गमा बहस छेड्ने कोण दिएको छ । यस अर्थमा कि औपचारिक÷अनौपचारिक सभा÷समारोह÷कार्यक्रममा देशको कार्यकारी प्रधानमन्त्रीको उपस्थिति अनिवार्य, आवश्यकीय नै हो कि होइन ? 

नेपाल यसै पनि राणाकाल, राजाकाल हुँदै बहुदलीय व्यवस्था, लोकतान्त्रिक व्यवस्था र पछिल्लोपटक भएको राजनीतिक परिवर्तनद्वारा उद्घाटित गणतन्त्रात्मक शासनपद्धति त्यो पनि संघीयतासहितको, मा प्रवेश गरिसकेको छ । लिच्छविकाललाई स्वर्णयुग मान्ने नेपाली इतिहासमा त्यसपछिका जुनसुकै व्यवस्था आए पनि विकास र समृद्धिको स्वर्णयुग लेखेको पाइँदैन । राणाहरुले शिक्षाबाट जनतालाई वञ्चित गरेर जर्जर पारेको नेपाली माटोमा राजाहरुले प्रत्यक्ष रुपमा धेरै शासन गर्नै पाएनन्, भलै अविकास र राजनैतिक दुर्गतिको कारक शाहवंशीय राजाहरुको थाप्लोमा हालिएको होस्, कार्यकारी हैसियतमा राणाहरुले र पछिल्लो समय राजनीतिक दलहरुले नै गिजोलेको इतिहास र वर्तमानको यथार्थता हो ।

नेपालमा पात्रलाई भन्दा पनि प्रवृत्तिलाई अविकासको कारण मान्ने गरिएको छ । व्यवस्थालाई दोष लगाइन्थ्यो तर अब त्यो पनि मिथ्या रहेछ भन्ने सबैले बुझ्न थालेका छन् । जोसुकैले शासन गरुन् तर जनता र देश समृद्ध हुनसकेन भने अर्थ रहँदैन । व्यवस्थालाई दोष लगाएर उम्किनेहरु अहिले शासनसत्ता हाँकिरहेका छन् । उनीहरुले ख्यालख्यालमा शासन चलाएकै १२ वर्ष नाघिसकेको छ । दुईवटा संविधानसभा गठनपश्चात् बल्लतल्ल संविधान फेरियो । करोडौँको राज्यढुकुटी सकाइयो । निर्वाचन गराएर प्रदेश सरकार गठन गरियो, स्थानीय सरकार गठन गरियो । तर पनि विकास होला र ? भन्ने प्रश्न र संशय जनतामाझ मरिसकेको छैन । 

व्यवस्थालाई दोष लगाएर उम्किनेहरु अहिले शासनसत्ता हाँकिरहेका छन् । उनीहरुले ख्यालख्यालमा शासन चलाएकै १२ वर्ष नाघिसकेको छ ।

किन फेरिँदैन प्रवृत्ति ? 
पूर्वशासनकर्तामाथि प्रश्न तेस्र्याएर सत्तामा पुगेकाहरुको पनि दुर्भाग्यवश प्रवृत्ति फेरिएको छैन । देशको कार्यकारी अधिकार हातमा बोकेकाहरु सामान्य कार्यक्रमको उद्घाटनमा रमाइरहेका छन्, कर्मचारीतन्त्र भ्रष्टाचारको दलदलबाट उठ्नसकेको छैन अनि हामी समृद्धिको सपना देखिरहेका छौँ । हामी के भनौँ समृद्ध नेपाल सुखी नेपाली नारा वर्तमान स्थायी सरकारको, दुई तिहाइ मतहासिल गरेको सरकारको प्रधानमन्त्री केपी ओली २०६५ फागुन १५ मै संग्रहालय बनाइसकिएको दरबारमा पुगेर तामझामसाथ श्रीपेच सार्वजनिक गर्दै जुँगामा ताउ लगाइरहेका छन् । मानौँ कि कुनै ठूलै विकासे परियोजनाको श्रीगणेश गरियो ।

दोस्रो कार्यकाल खाएको छ महिने अवधि नाघिसक्दा प्रधानमन्त्री देखावटी रमझममा झुम्मिइरहेका छन् । कतै गएर गोबरग्यास उद्घाटन गर्छन्, त्यसको १५ दिनमै उक्त काम बन्द हुन्छ, कतै गएर घण्टौँसम्म कार्यक्रममा बसेर अमुक संस्थासँग आबद्धहरुलाई प्रमाणपत्र र खादा लगाइदिन्छन् त कतै गएर रिबन काट्न भ्याउँछन् । मानौँ नेपालको प्रधानमन्त्रीसँग राष्ट्रका लागि अन्य कुनै उल्लेखनीय काम नै छैन, फलतः यस्तै झिनामसिना कुराहरुमा अल्झिनुपरेको छ । इतिहासको संरक्षण गर्नुपर्ने काममा भन्दा इतिहासलाई मेटाउने काममा बढी सक्रिय राजनीति गरेका कम्युनिष्ट प्रधानमन्त्रीले वर्षौँअघि संग्रहालय भइसकेको दरबारमा गएर तामझामसाथ श्रीपेच सार्वजनिक गर्नुपर्ने यो कस्तो बाध्यता ?

अझ उनकै दलका अर्का पूर्वप्रधानमन्त्री माधव नेपालले त्यही दरबारको आसपासमा गणतन्त्रस्मारक र स्तम्भ बनाउन लगाएका थिए, जो केही समयमा उद्घाटन हुनेछ । राजतन्त्र आज छैन, जो इतिहास बनिसक्यो, त्यसलाई नामेट पार्ने गरी त्यही ठाउँमा गणतन्त्र स्मारकको आवश्यकता किन पर्यो ? हुन त यी नेताहरु तिनै हुन् जसले दोस्रो जनआन्दोलनपछि पूर्वराजाका नाममा रहेका सडकको, सडकका चोकहरुको नाम फेरेर राजनीति गरे ।

यसरी हुर्किएका नेताहरुले स्मारक बनाउनु, उद्घाटन गर्नु, रिबन काट्दै हिँड्नु कुनै नौलो कुरा होइन । यो पढिरहँदा कतिलाई रिस उठ्नसक्छ तर तीतो सत्य के हो भने श्रीपेच, राजदण्ड प्रधानमन्त्रीको हातबाटै सार्वजनिक गरिनुपर्ने कुनै आवश्यकता छैन, न त कुनै विद्यालयको उद्घाटनमा देशको प्रधानमन्त्री नै उपस्थित हुनु आवश्यक छ । प्रधानमन्त्रीको चासो र ध्यान उद्घाटन, सभा समारोहमा उपस्थितितिर बढी गएको छ । यो केवल अहिलेमात्रै होइन, वर्षौँदेखिको चलन हो । 

श्रीपेच, राजदण्ड प्रधानमन्त्रीको हातबाटै सार्वजनिक गरिनुपर्ने कुनै आवश्यकता छैन, न त कुनै विद्यालयको उद्घाटनमा देशको प्रधानमन्त्री नै उपस्थित हुनु आवश्यक छ ।

राजनीतिक दलहरुकै भनाइलाई स्वीकार्ने हो भने पहिले राणा र राजा नै नेपाल अविकसित हुनुमा दोषी थिए रे तर अहिले विगत १ दशकलाई हेरौँ न ! दलहरुले कसरी बिताए गएको १० वर्ष र अहिले कसरी बिताउँदै छन् । प्रधानमन्त्रीकै कार्यशैली यस्तो छ भने मन्त्रीहरुको कस्तो होला भनिरहनु परोइन । कतै स्कुलको वार्षिकोत्सवमा पुगेर भाषण ठोक्ने, कतै पुराण सुरु हुने बेला उद्घाटनको दियो बाल्ने, कहिले नयाँ विमान आइपुग्छ रिबन काट्न उपस्थित भइहाल्ने, कहिले सगरमाथाको फेदमा पुगेर मन्त्रिपरिषद्को बैठक बस्ने त कहिले रारा तालको किनार ।

वाह ! हाम्रा जननिर्वाचित माननीयहरु । कति राम्रो काम । दुई चार जना कार्यकर्ताले गाउँमा देखाउनकै लागि ठूला नेता बोलाउँछन्, यता हेडक्वार्टरमा कुरेर बसिरहेका हुन्छन् बेरोजगार नेताहरु । कहिले कहाँ गएर भाषण ठोकूँ भनेर । प्रधानमन्त्री, मन्त्री तिनै हुन्छन्, जो कार्यक्रममा मनोरञ्जन लिन उपस्थितहरुलाई पेट मिची मिची हसाउँछन् । जो प्रतिपक्षको सत्तोसराप गर्छन् र आफूले गर्न नसकेका कामलाई हाँसोमै बिर्साउँछन् । दशैँ आउँछ, गाउँमा कार्यक्रम गरिन्छ, प्रमुख अतिथि केन्द्रस्तरका नेता हुन्छन् । 

बोल्नेको पीठो बिक्छ नै तर त्यो पीठो नै हुन्छ । केपी ओलीले पनि प्रधानमन्त्रीका रुपमा धेरै बोलेका छन्, भाषण बिकाएका छन् । रेल र पानीजहाज त ओलीका लागि २ वर्षमै दौडिने र बग्नेछन् । किनकि ओलीले हरेकजसो दैनिकजसो भाषण यही गर्दै हिँडेका छन् । हेरौँ उनको भाषण कतिको फलिफाप हुन्छ ! हुन त मन्त्री बनिसकेकाहरुलाई मौका पर्दा राजदूत बन्ने तिर्खा लाग्छ नेपालमा । पूर्वप्रधानमन्त्रीहरुलाई छिमेकको निकै तल्लो तहको नेता आउँदा होटलमै भेट्न जाँदा कुनै आत्मग्लानि हुँदैन यहाँ । 

यस्तो किन ? 

सस्तो लोकप्रियतामा रमाउन चाहने प्रवृत्ति नेपाली राजनीतिक दल र तिनका नेताकै समस्या हो । जबसम्म यस्ता कुराहरुबाट माथि उठ्न सक्दैनन् नेताहरु, राजनीति पनि न्यूनस्तरमै बाँचिराख्छ । उद्घाटन, सभासमारोहबाट जोगिँदा मात्रै प्रधानमन्त्री, मन्त्रीहरुलाई देशविकासको कुरा सोच्ने समय निस्किन्छ नत्र भने उही दुई चार जना भेला भएको जमात हसाउनेबाहेक देशविकास र जनसमृद्धिको माखो मर्दैन । यो कुरा नेपाली राजनेताहरुले बुझ्न जरुरी छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै