• २०८१ बैशाख १६ आइतबार

पूर्वराजा ज्ञानेन्द्रको दशैँको शुभकामना : देश बचाउने चिन्ता व्यक्त 

kharibot

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमीको शुभकामना दिदै देश बचाउने चिन्ता व्यक्त गरेका छन्। ज्ञानेन्द्रले २०७५ को दसैंको उपलक्ष्यमा दिएको शुभकामना सन्देशमा यस्तो चिन्ता व्यक्त गरेका हुन्। 

‘देश बन्ने बनाइने सपना देखेका हामी–राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका छौँ’, ज्ञानेन्द्रको सन्देशमा भनिएको छ। 

अहिलेको राजनीतिक घटनाक्रमको व्यख्या गर्दै उनले हरेक परिवर्तन उपलब्धि भएको तर हरेक परिवर्तनले उपलब्धि प्राप्त गर्न नसकेको अवस्था देखिएको उल्लेख गरेका छन्। उनले नेपालीबीचको सामाजिक सद्भाव मेटिदै गएको र तराई, पहाड र हिमाल माझको एकता तोड्ने प्रयास भएको बताएका छन्। 

‘हरेक उपलब्धि परिवर्तन हुन् तर हरेक परिवर्तन उपलब्धिमूलक बन्न सक्दारहेछन् भन्ने पुष्टि विद्यमान अवस्थाले देखाएको छ’, उनले सन्देशमा भनेका छन्, ‘आज नेपालीबीचको सामाजिक सद्भाव मेटिदै छ भने तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न भइरहेको छ।’ 

ज्ञानेन्द्रले आफैंलाई साक्षी राखेर देश र देशबासीका पक्षमा केही गर्ने घडी आएको उल्लेख गरेका छन्। राजनीतिक दलतर्फ लक्षित गर्दै उनले समीक्षा र आत्ममूलयांकनको समय आएको बताएका हुन्। ‘अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको छ’, उनले भनेका छन्, ‘आफैंलाई साक्षी राखेर देश र देशबासीका पक्षमा केही गर्ने प्रण गरौँ।’

दसैं शुभकामनाका कुरा थोरै र धेरै देशको राजनीतिक अवस्थाप्रति आक्रोश र चिन्ता व्यक्त गरेका ज्ञानेन्द्रले देश शान्त, सुखी र समृद्ध बन्ने आशामा नेपालीले गरेको सहमति राष्ट्रिय एकताका लागि भए पनि त्यो नभएको बताएका छन्। 

‘देश शान्त, सुखी र समृद्ध बन्ने आशामा हामीले गरेको सहमति अभिभाज्य मुलुक र सद्भावपूर्ण राष्ट्रिय एकताका निम्ति थियो भन्ने तथ्य पुनःस्मरण गराउँदछु’, उनले भनेका छन्, ‘देशमा शान्ति, सुव्यवस्था बन्ने, एउटा नेपाली अर्को नेपालीबाट मर्नु मारिनु नपर्ने, अपराधिक क्रियाकलापमा न्युनिकरण हुने, केपिला बालबालिकासमेत सुरक्षित र संरक्षित रहन सक्ने, विभिन्न आकार प्रकारका सरकारबाट जनतामाथि आर्थिक भार कम हुने, जनताको जीवन सुखमय बन्ने राष्ट्रिय एकता र सार्वभौमिकता थप मजबुद हुने तथा असहिष्णु व्यवहार निरुत्साहित हुँदै जाने विश्वास हामीले लिएका थियौँ।’ 

ज्ञानेन्द्रले पछिल्ला दिनमा मौलिक धर्म, संस्कृति र चाडपर्व संकटमा पर्दै जानु सबै नेपालीका लागि दुःखद् भएको उनको भनाइ छ। नेपाल भन्नु नै धार्मिक क्षेत्रको प्रतिक भएको तर त्यसको संरक्षण हुन नसकेको ठहर उनको छ।

ज्ञानेन्द्रले दसैंको शुभकामनामा वक्तव्य सार्वजनिक गरे पनि शुभकामनाका लागि भने दुई वाक्य मात्र खर्च गरेका छन्। सुरु र अन्तिमको वाक्यमा दसैंको कुरा उल्लेख गरे पनि अन्य सबै राजनीतिक विषयवस्तु अटाएका छन्। 

‘विजया दशमीको पावन अवसरमा हामी देश भित्र र देश बाहिर रहे बसेका सम्पूर्ण नेपालीमा शान्ति, सुख र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछौँ’, सुरुको वाक्यमा यसरी शुभकामना दिएका उनले अन्तिम वाक्यमा भनेका छन्, ‘श्री नवदुर्गा भवानीले सबै नेपालीमा सद्प्रेरणा प्रदान गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पुनर्जागरण होस, यही मेरो कामना छ।’

शुभकामना  जस्ताकाे तस्तै

प्यारा नेपाली दिदीबहिनी तथा दाजूभाइ,

विजया दशमीको पावन अवसरमा हामी देश भित्र र देश बाहिर रहे बसेका सम्पुर्ण नेपालीहरुमा शान्ति, सूख र सम्वृद्धिको लागि शूभकामना व्यक्त गर्दछौं ।

नेपाल राष्ट्र भन्नू नै य१ीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनूष्ठान, साधना र परम्पराले व्यष्टित रहेको छ । कोट, मौलो, खडग, छत्र, शिला, कलश, शक्तिपीठका प्रतिककारुपमा रही नेपाली समाजमा देवी महात्म्यम् आरध्य छिन् । तर पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरु संकटमा पर्दै जानू सबै नेपालीका लागि विषद् विषय बनेको छ ।

देश शान्त, सूखी र सम्वृद्ध बन्ने आशामा हामीले गरेको सहमति अभिभाज्य मूलूक र सद्भावपुर्ण राष्ट्रिय एकताका निम्ति थियो भन्ने तथ्य पूनः स्मरण गराउंदछू ।

देशमा शान्ति सूव्यवस्था बन्ने, एउटा नेपाली अर्को नेपालीबाट मर्नू मारिनू नपर्ने, अपराधिक कृयाकलापमा न्युनीकरण हूने, कोपिला बालबालिकाहरु समेत सूरक्षित र संरक्षित रहन सक्ने, विभिन्न आकार प्रकारका सरकारहरुबाट जनतामाथि आर्थिक भार कम हूने, जनताको जीवन सूखमय बन्ने, राष्टिय एकता र सार्वभौमिकता थप मजबुद हूने तथा असहिष्ण व्यवहार निरुत्साहित हूंदै जाने विश्वास हामीले लिएका थियौं । 

देश बन्ने बनाइने सपना देखेका हामी नेपाली - राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसुचीहरुका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपूगेका छौं । हरेक उपलव्धिहरु परिवर्तन हून् तर हरेक परिवर्तनहरु उपलव्धिमुलक बन्न सक्दारहेनन् भन्ने पूष्टि विद्यमान अवस्थाले देखाइरहेको छ ।

आज नेपालीबीचको सामाजिक सद्भाव मेटिदैछ भने तराई, पहाड र हिमाल माझको एक्यभाव तोड्ने भगिरथ प्रयत्न समेत भइरहेको छ ।

अव समिक्षा र आत्ममुल्यांकनको घडी आएको छ । आफैलाई साक्षी राखेर देश र देशबासीका पक्षमा केही गर्ने प्रण गरौं । 

श्री नवदुर्गा भवानीले सबै नेपालीमा सत्प्रेरणा प्रदान गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस्, यही मेरो कामना छ ।

जय नेपाल ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै