काठमाडौँ । इङलिश प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले इभर्टनलाई पराजित गरेको छ ।
युनाइटेडको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले एभर्टनलाई ४–० ले पराजित गरेको हो । यसै सिजन युनाइटेडबाट एभर्टन फर्किएका वायन रुनीले आफ्नो पूर्वक्लबविरुद्ध ओल्ड ट्राफोर्डमा पहिलो खेल खेलेका हुन् ।
युनाइटेडको जितमा एन्टोनियो भ्यालेन्सिया, हेनरिक एमखिर्तयान, रामेलु लुकाकु र एन्थोनी मार्सलले गोल गरे ।
चौथो मिनेटमा नै युनाइटेडका भ्यालेन्सियाले गोल गर्दै सुरुवाति अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको युनाइटेडले थप तीन गोल अन्तिमको सात मिनेट र इन्जुरी समयमा गर्यो ।
खेलको ८३औं मिनेटमा एमखिर्तयानले गोलगरे भने खेलको ८९औं मिनेटमा लुकाकुले गोल गरेपछि युनाइटेडले ३–० को अग्रता लिएको थियो । लुकाकु इभर्टनकाप पुर्व खेलाडी हुन् । उनि यसै सिजन एभर्टनबाट युनाइटेड आएका हुन् ।
इन्जुरी समयमा पाएको पेनाल्टी अवसरमा मार्सलले गोल गरेपछि युनाइटेड ४–० ले विजयी भयो । जितपछि युनाइटेडको ५ खेलबाट १३ अंक भएको छ ।
समान १३ अंक नै भएपनि म्यानचेस्टर सिटी शीर्ष स्थानमा छ भने युनाइटेड दोस्रो स्थानमा छ ।
पाँच खेलबाट चार अंक जोडेको एभर्टन भने १८औं स्थानमा झरेको छ ।