• २०८१ बैशाख १४ शुक्रबार

ट्रायलका लागि बेल्जियम जाँदै विमल, ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने

kharibot

काठमाडौँ । नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन् ।

यसै सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका घर्तीले दुई खेलपछि नै क्लब छाड्न लागेका हुन् । क्लबले पनि विमल बेल्जियम जाने भएपछि उनको सम्झौता फुकुवा गरेको मुख्य प्रशिक्षक राजुकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि पनि विमलले बेल्जियमको आरएससी एण्डरलेच्टबाट पनि खेलेका थिए भने स्पेनको मार्वेला युनाइटेडमा ट्रायल दिएका थिए । जारी लिगका दुई खेल सकिँदासम्म विमलले गोल गर्न भने सकेका छैनन् ।

यसै सिजन ‘ए’ डिभिजनमा उक्लिएको च्यासल युथ क्लबका लागि विमलको अनुस्थितिले केही समस्या पर्ने देखिन्छ । लिगमा दोस्रो चरणको खेल सकिँदा एक हार, एक बराबरी र एक अङ्कसहित च्यासल लिगको नवौँ स्थानमा छ ।

पहिलो खेलमा मच्छिन्द्रसँग गोलरहित बराबरी खेलेको थियो भने दोस्रो खेलमा त्रिभुवन आर्मीसँग १–० ले पराजित भएको थियो ।

भारत, बेल्जियम र नेदरल्याण्डसमा समेत व्यावसायिक फुटबल खेलिसकेका विमल ‘ए’ डिभिजन लिगमा यसै वर्षदेखि खेलेका हुन् । विमललाई लिन अन्य क्लबहरूले प्रयास गरे पनि अन्तिममा च्यासल गएका थिए ।

चौध वर्षको उमेरमा बङ्गलादेशविरुद्ध मैत्रीपूर्ण खेलमार्फत राष्ट्रिय टोलीमा स्थान पाएपछि खेल्दै आएका विमलले राष्ट्रिय टोलीका लागि नौ गोल गरिसकेका छन् । उनले यसअघि २०७१ सालको राष्ट्रिय लिगमा सुदूरपश्चिमबाट खेलेका थिए ।

एन्फाको बुटवल एकेडेमीमा २०६७ सालमा प्रवेश गरेका विमलले त्यहाँ रहेर दुई वर्ष प्रशिक्षण गरे । सन् २०१२ को एएफसी यू–१४ फेस्टिभलमा राम्रो प्रदर्शन गरेपछि उनलाई राजधानीको एकडेमीमा ल्याइयो ।

राष्ट्रिय टोलीका तत्कालीन प्रशिक्षक कृष्ण थापाले १४ वर्षकै उमेरमा उनलाई राष्ट्रिय टोलीबाट खेलाएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै