काठमाडौँ। विश्व रग्बीको ‘प्रोजेक्ट एशिया १० लाख’ लक्ष्यको मुख्य अंगका रुपमा रग्बी विश्वकप २०१९ मैदान बाहिर प्रभाव नामक कार्यक्रम यही शनिबार काठमाडौंको टुँडिखेलमा आयोजना गरिएको थियो । जसमा २५ सयले सहभागिता जनाएका थिए ।
नेपालका उपराष्ट्रपति नन्दकिशोर पुनले उद्धघाटन गरेको उक्त कार्यक्रममा सबै तप्काका मानिसहरुको सहभागिता रहेको थियो । जहाँ धेरैजनाले पहिलोपटक रग्बीलाई छोएको बताएका थिए । नेपाल रग्बीले तल्लो तहसम्म यस खेलको विकासका लागि कार्य गरिरहेको छ । संगितक कार्यक्रम माझ प्रदर्शन गरिएको वेब एलिस कपलाई दर्शकहरुले नजिकबाट अवलोकन गर्ने मौका समेत पाएका थिए ।
ट्रफी टुरको लक्ष्य नै खेल मैदान बाहिर पनि प्रभाव छोड्नु र नेपालमा रग्बी खेलको विकासमा सहयोग पुर्याउनु रहेको बताइएको छ । प्रोजेक्ट एशिया वान मिलियन, मैदान बाहिर प्रभावको एक अंग हो, जसको लक्ष्य एशियामा २०२० सम्ममा १० लाख नयाँलाई रग्बीमा सहभागिता गराउने छ । एशियाभर गरेर अहिले नै ९ लाख मानिसको सहभागिता भइसकेको छ ।
विश्व रग्बीका अध्यक्ष बिल बिउमाउन्ट भन्छन्– ‘रग्बी विश्वकप ट्रफी टुरले नयाँ खेलाडी र दर्शकहरुलाई आकर्षित गर्न सफल भइरहेकोमा हामी निकै उत्साहित छौं । यसपटको रग्बी विश्वकप एशियामा नै रहेको जापनमा हुने भएकोले पनि एशियाका दर्शक तथा फ्यानका लागि यो निकै उत्साहप्रद समय छ । जापानमा रग्बी विश्वकप आयोजना भएसँगै एशियामा नै रग्बीले महत्व पाउनेमा आशावादी छौं ।’
वेब एलिस कप पहिलोपटक नेपाल ल्याइएको थियो र यसलाई समुद्र सतहभन्दा धेरै माथि (५५०० मी) कालापत्थर पुरयाइएको थियो । ट्रफीलाई अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त, वर्ष खेलाडी रहिसकेका, बेलायतका पूर्व रग्बी खेलाडी ओले फिलिप्सले उक्त उचाइमा लिएर पुगेका थिए ।
यसअघि ट्रफीलाई २००७ मा फ्रान्समा आयोजना भएको रग्बी विश्वकपको बेला ४,८०८.७ मीको उचाइमा रहेको मन्ट ब्लांक लगिएको थियो । यस्तै २०१५ मा बेलायतको स्नोडन (१,०८५ मी) मा वेल्सका पूर्व खेलाडी रुपर्ट मुनले लगाएका थिए । यस्तै स्क्याफेल पाइक (९७८ मी) मा विश्व रग्बीका अध्यक्ष बिल बिउमाउन्ट र पूर्व बेलायती खेलाडी म्यागी एलफोन्सीले लगेका थिए । यस्तै २०१६ मा १,७५२ मी अग्लो माउन्ट हिकुरांगीमा न्यूजिल्याण्डका २०१५का रग्बी विश्वकप विजेता टोलीका सदस्य नेहे मिल्नेर–स्कुडरले पुरयाएका थिए ।
काठमाडौंमा छँदा ट्रफीलाई नेपालका लागि जापानका राजदूत मासामिची साइगोले पनि स्वागत गरेका थिए । उनले ट्रफीको सम्मानमा विशेष भोजको समेत आयोजना गरेका थिए । जसमा २०१५ को विश्वकप आयोजकका तर्फबाट प्रतिनिधित्व गर्दै बेलायती राजदूत रिचर्ड मोरिस सहभागी थिए ।
ट्रफीलाई काठमाडौंको स्वयम्भूनाथ मन्दिर, बौद्धनाथ र पशुपतिनाथका साथै पाटन दरबार क्षेत्र पनि पुरयाइएको थियो । नेपाल विश्वकप ट्रफी टुर अन्तरगत पर्ने २० राष्ट्र मध्येको दशौं गन्तव्य हो । यो २०१८ को अन्तिम गन्तव्य पनि हो ।
ट्रफीले एशिया भ्रमण गरेको यो पाँचौं अवसर हो । यसहअघि ट्रफीलाई हङकङ, चीन, फिलिपिन्स र भारत लगिसकिएको छ । अब जेनेवरीमा यसको अर्को गन्तव्य मलेसिया हुने छ । यसले एशियाको जापानमा हुन लागेको आगामि विश्वकपका लागि वातावरण तयार पारिरहेको छ । यस्तै अर्को वर्ष ट्रफीलाई पाकिस्तान, ब्राजिल, चिली पुरयाइने छ ।
रग्बी विश्वकप २०१९ जापानमा आयोजना हुन लागेको नवौं संस्करण हो, जुन एशियामा पहिलो पटक आयोजित हुँदै छ । विश्वका २० टीमले ४८ खेल खेल्ने यस प्रतियोगिता १२ विभिन्न सहरमा आयोजित हुने छ । प्रतियोगिता २० सेप्टेम्बरमा सुरु भई २ नोभेम्बरमा समापन हुनेछ ।
रग्बी विश्वकप यस खेलको सबैभन्दा महत्वपूर्ण आर्थिक पाटो हो जसले यस खेलको विकासका लागि चाहिने ९० प्रतिशत रकम जोहो गर्न मद्दत गर्छ । बेलायतमा आयोजना भएको विश्वकप २०१५ रग्बीमा २०२० सम्म लगानी गर्नका लागि २४५.८ मिलियन पाउण्ड रकम उठाएको थियो ।