• २०८१ बैशाख १७ सोमबार

गोरखाको अजिरकोटमा झ्याल्ला भूमे मन्दिरको शिलान्यास 

kharibot

गोरखा । जिल्लाको अजिरकोट गाउँपालिकामा भूमे मन्दिरको शिलान्यास गरिएको छ । भूमे जनकल्याण समाजले एक कार्यक्रम गर्दै सोमबार अजिरकोट ४ सिम्जुङमा उक्त मन्दिर शिलान्यास गरेको हो । 

गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले मन्दिरको शिलान्यास गरेका हुन् । मन्त्री लम्सालले मन्दिर निर्माण अभियानमा आवश्यक थप रकम मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । गत भदौदेखि नै समाजले मन्दिर निर्माण तथा विस्तारको लागि अभियान सुरु गरेको थियो । १ करोड १२ लाख ५० हजारको अनुमानित लागत रकमको गुरुयोजनासहित निर्माण गरिने आयोजकले जनाएको छ । धर्म, संस्कार र संस्कृति जोगाउन एकजुट भएर लाग्नुपर्ने बताउदै गण्डकी प्रदेश सांसद प्रकाश चन्द्र दवाडीले बताए । उनले मन्दिर पुनर्निर्माणको काममा कुनै कसुर नराखी अगाडि बढ्ने बताए । 

भूमे मन्दिरलाई व्यवस्थित बनाउन सके राजस्व संकलनको केन्द्र बनाउन सकिने वक्ताहरुले बताएका थिए ।  अजिरकोट गाउँपालिका अध्यक्ष फणिन्द्र धितालले इतिहासलाई खण्डित हुन नदिई गौरवका पहिचान र सभ्यतालाई जर्गेना गर्नु र्ने बताएका थिए । सो कार्यक्रममा वडाध्यक्ष जंग गुरुङले स्थानीय कृषि उपज, सडक स्तरोन्नति, ढल निकास, वनजङगलको जडिबुटी, टे«किङ रुट संचालनलगायतको माग राख्दै ज्ञापनपत्र मन्त्री लम्साललाई बुझाएका थिए । 

त्यसैगरी हिमालय मावि सिम्जुङका प्रधानाध्यापक इन्द्र कुमार मिश्रले चालू वर्षदेखि सञ्चालनमा रहेको प्राविधिक शिक्षा डिप्लोमा इन सिभिर इन्जिनियरिङ सञ्चालनको लागि विज्ञान प्रयोगशाला र विद्यालयको बाहिरी घेराबार मिलाउन भन्दै ज्ञापनपत्र बुझाएका छन् ।  मन्दिरवरिपरिको भागलाई खोलाको कटानबाट जोगाउन वन डिभिजन कार्यालयका अधिकृत इमनाथ पौड्यालले ९ लाख तटबन्ध लगायतको कार्यको लागि सहयोग गर्ने बताए । 

यसअघि ०७२ को भूकम्पमा मन्दिर भत्किएपछि पुनः सोही स्थानमा नयाँ मन्दिर निर्माण गर्न भूमे मन्दिर पुनर्निर्माण तथा विस्तार अभियान २०७५ सुरु गरिएको थियो । मन्दिर निर्माणको लागि २० लाखभन्दा बढीको आर्थिक सहयोग जुटिसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै