विश्व राजनीतिमा ‘पपुलिज्म’ : पहिले बलियो, अहिले कमजोर !

खरीबोट

काठमाडौं । पछिल्लो समय विश्व राजनीतिमा उदाएको ‘पपुलिज्म’ अलोकप्रिय बन्न थालेको संकेत देखिएको छ । गत नोभेम्बरमा भएको अमेरिकी मध्यावधि निर्वाचन, भारतमा भर्खरै सम्पन्न पाँच राज्यको विधानसभा चुनाव, बेलायतमा युरोपबाट बाहिरिने क्रममा रहेको ब्रेक्जिट पक्षधरबीचको विवाद, फ्रान्समा एकाएक चर्किएको मूल्यवृद्धिको विरोध आन्दोलनलगायतका दृष्टान्तहरुलाई मध्यनजर गर्ने हो भने एकाएक राजनीतिमा उदाएका हस्तीहरु कमजोर हुँदै गएको विश्लेषण गर्नु अतिशयोक्ति र कपोलकल्पित होइन । 

डोनाल्ड ट्रम्प र अमेरिका 

गत नोभेम्बरमा भएको मध्यावधि निर्वाचनमा अमेरिकामा २०१६ पछि बिजनेस पृष्ठभूमिबाट राष्ट्रवादलाई लिएर राजनीतिक विरासत बनाउन आएका वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दल रिपब्लिकन पार्टीले प्रतिनिधि सभा (यूएस हाउस)को नियन्त्रण गुमायो भने यूएस सिनेटमा भने आफ्नो नियन्त्रण विस्तार गर्यो । मझधारमा रहँदा अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो सफलताको रुपमा लिए पनि उनको पपुलिज्म केही कमजोर भएको रुपमा लिन सकिन्छ । किनकि सबै उम्मेदवार जसलाई उनले समर्थन गरेका थिए, उनीहरूले विजय पाउन सकेनन् ।

२०२० मा हुने राष्ट्रपतीय निर्वाचन ट्रम्पकै लागि पनि निकै चुनौतीपूर्ण बन्दै गएको छ । मध्यावधि निर्वाचनको सफलतासँगै विपक्षी डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा सम्हाल्न आइपुग्दा ट्रम्पको नीतिमाथि ठूलो चुनौती आइलाग्नेछ भने कानुननिर्माणमा समेत ट्रम्प र उनको पार्टीलाई गाह्रो हुने निश्चित छ । उसै त अमेरिकामा ट्रम्पको एप्रुभल रेट (राष्ट्रपतिको कामको आधारमा जनताले दिने सहमति) ५० प्रतिशत समेत पुग्न नसकिरहेको स्थितिलाई कतिपयले विश्वमा पपुलिज्मको अलोकप्रियताको कसीमा दाँज्ने प्रयास गरेका छन् । हुन त ट्रम्पको उदयपछि विश्वभर नै पपुलिज्मको उदय हुनपुगेको थियो भने कतिपय देशमा त्यो कमजोर बनिरहँदा कतिपय देशमा त्यसले निरन्तरता पनि पाइरहेको छ ।

जस्तै ब्राजिलमा नयाँ निर्वाचित भएका जायर बोल्सानारो आफैँ दक्षिणपन्थी धारका हुन् । उनलाई अतिवादी राजनीतिक पृष्ठभूमिबाट आएको नेताका रुपमा लिइन्छ । भर्खरै सम्पन्न निर्वाचनमा उनले अत्यधिक मत पाएका थिए । पूर्व ब्राजिलेली सेनासमेत रहेका उनलाई ब्राजिलमा उदाएको ट्रम्प समेत मानिन्छ । फिलिपिन्सका डुतेर्ते पनि पपुलिज्मकै एक अनुहार हुन् । उनीहरुको प्रभाव बढेको देखिरहँदा जहाँबाट पपुलिज्म उदाएको थियो, त्यहाँ भने यसले अलोकप्रियता हासिल गर्दै गरेका उदाहरण देखिनथालेको छ । यसमा विश्वका अन्य उदाहरणहरु पनि छन् । 

इम्यानुअल म्याक्रोन र फ्रान्स 

केही दिनयता फ्रान्सका युवा राष्ट्रवादी इम्यानुअल म्याक्रोनविरुद्ध आन्दोलनले पेरिसको सडकमा हिंसात्मक प्रदर्शन भइरहेको छ । जलवायु परिवर्तनविरुद्ध लड्न भन्दै उनको प्रशासनले लगाएको इन्धन करले उनको १ वर्षअघि कमाएको लोकप्रियता खस्किँदो छ । २०१७ मा मात्रै उनी दक्षिणपन्थी धारलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका थिए भने उनको पपुलिज्मले युरोपकै नेतृत्व गर्ने लक्षण पनि देखिएकै थियो । तर पछिल्लो गृहआन्दोलन उनकै लागि अलोकप्रियता बढाउने आधार देखिनथाल्नु उनकै लागि पनि चुनौतीपूर्ण हो । सयौँ मानिसहरु जेलमा पर्दा हजारौँ मानिसविरुद्ध उनको प्रशासनले अश्रुग्यास र पानीका फोहोरा हाल्न बाध्य हुनुपर्यो ।

त्यस्तै झण्डै आधा दर्जनको त प्रदर्शनकै क्रममा ज्यान समेत गइसकेको छ । सोही कारण उनको राजीनामा समेत मागियो भने उनको प्रशासनले विपक्षीहरुको माग सम्बोधन गर्दै करछुटको घोषणा र तलबवृद्धि गर्ने प्रतिबद्धतायुक्त राष्ट्रपतीय सम्बोधन गराउन बाध्य भयो । यो वास्तवमै फ्रान्समा उदाएको पपुलिज्मप्रतिको नराम्रो प्रहार थियो । 

उसै त अमेरिकामा ट्रम्पको एप्रुभल रेट (राष्ट्रपतिको कामको आधारमा जनताले दिने सहमति) ५० प्रतिशत समेत पुग्न नसकिरहेको स्थितिलाई कतिपयले विश्वमा पपुलिज्मको अलोकप्रियताको कसीमा दाँज्ने प्रयास गरेका छन् ।

नरेन्द्र मोदी र भारत 

भारतीय राजनीतिमा बिजनेस र धर्मको कार्डबाट उदाएका नरेन्द्र मोदीको पपुलिज्म पनि खस्किँदो अवस्थामा देखिएको छ । भर्खरै सम्पन्न पाँच राज्यको विधानसभा निर्वाचनमा सत्ता हाँकिरहेको र बलियो अवस्थामा रहेको बीजेपीले व्यहोरेको हार विश्वमा पपुलिज्म कमजोर हुँदै गइरहेको संकेतको रुपमा हेरिएको छ । गत निर्वाचनहरुमा उठ्न नसक्ने गरी पराजित भएको भारतीय कंग्रेसमा राहुल गान्धीको प्रभाव बढ्दो अवस्थामा रहेको यो निर्वाचन परिणामले देखाएको छ । यसलाई नरेन्द्र मोदीको अलोकप्रियताको रुपमा समेत हेरिएको छ । १५ बर्षदेखि शासन गरिरहेको मोदीको पार्टी बिजेपीले मध्यप्रदेश र छात्तिसगढ़मा सत्ता गुमाएको छ भने राजस्थानमा पनि सत्ताबाट बाहिरिएको छ । त्यस्तै भारतीय गभर्नरले समेत मोदीनीतिसँग असहमत भई राजीनामा दिएका थिए । यसले पनि पछिल्लो समय मोदीको लोकप्रियताको मापन गरेको छ ।

थेरेसा मे र बेलायत 

बेलायत युरोपेली संघबाट निस्किँदै गर्दा प्रधानमन्त्री थेरेसा मेको राजनीतिक भविष्य अन्योलग्रस्त हुँदै गएको छ । गएराति भएको उनीविरुद्धको ‘नो कन्फिडेन्स भोट’मा उनी जोगिए पनि उनले युरोपेली संघसँग सहमति जनाएको ब्रेक्जिट डिलप्रति उनकै पार्टीका नेताहरुले विमति राखेका छन् । उनी पनि विश्वकै पपुलिज्मको उदय भइरहँदा बेलायती राजनीति सम्हाल्न आइपुगेकी थिइन् । तर युरोपेली संघलाई फाइदा पुग्ने गरी ब्रेक्जिट डिल गरेको भन्दै आफ्नै पार्टीका दुई तिहाइ सांसदबाट आलोचित बनेकी छिन् । डेभिड क्यामरुनलाई राजीनामा दिन बाध्य गराउँदै पपुलिज्मको उदयका रुपमा मेको आगमन भए पनि अहिले बेलायत युरोपमै बस्ने कि छुट्टिने भन्ने विवाद अन्योलग्रस्त छ । जसरी मे आएकी थिइन्, त्यसरी सहज रुपमा ब्रेक्जिट भइदिएको भए थेरेसा मेको सफलता विश्व राजनीतिमा उदाइरहेको पपुलिज्मको एउटा सफलता मानिने थियो तर त्यस्तो संकेत देखिँदैन । 

भ्लादिमिर पुटिन र रुस 

देख्नलाई रुसेली जनता भ्लादिमिरकै पक्षमा देखिन्छन् तर उनको निरंकुशताको विरोध गर्नेप्रति गरिएको दमनले उनको पपुलिज्म केही ‘प्रोटेक्टेट’ देखिए पनि उनका असंख्य विपक्षीहरु छन् । जसलाई पुटिनले कहिले नजरबन्द त कहिले जेल हाल्ने गरेका छन् । युक्रेनको क्रिमिया हडप्नेदेखि भर्खरै युक्रेनी नौसैनिक जहाज नियन्त्रणमा लिने कदमले उनका पक्षधरलाई हौसला दिए पनि विश्वराजनीतिमा उनी निकै आलोचित बनिरहेका छन् । उनको जनप्रियता विश्वराजनीतिमा छँदै छैन भन्दा पनि हुन्छ तर देशमा चलिरहेको अप्रजातान्त्रिक र निरंकुश शासनप्रणालीले उनलाई केही मद्दत अवश्य गरेको छ तर स्वतन्त्र वल्र्डमा उनको कुनै पपुलिज्म देखिँदैन । 

सि जिन पिंग र चीन 

पछिल्लोपटक सर्वसत्तावादी बनेका चिनियाँ राष्ट्रपति सी जिन पिंगको पनि पुटिनकै जस्तो अवस्था हो । यद्यपि आर्थिक गतिविधिलाई मात्र ध्यान दिइरहने चीन पछिल्लो समय अमेरिकासँगको व्यापारयुद्धमा सामेल भएसँगै चिनियाँ अर्थतन्त्र नकारात्मक दिशातिर ढल्किरहेको छ जसले आजन्म शासन गर्ने अधिकार हडपेर सर्वशक्तिमान् बनेका सीको जनप्रियता खुम्च्याइरहेको छ । अर्जेन्टिनामा सम्पन्न जि २० राष्ट्रका प्रमुखहरुको भेटका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पसँग उनले गरेको व्यापार युद्ध ९० दिनसम्म रोक्ने र यो बीचमा समाधानको प्रयास गर्ने सम्झौताले पनि उनलाई आन्तरिक राजनीतिले कति दबाबमा राखेको छ भन्ने स्पष्ट हुन्छ । 

ब्राजिल, मेक्सिको, फिलिपिन्स, पाकिस्तान लगायतका देशमा पपुलिज्मले सफलता पाएको ती राष्ट्रका कार्यकारी प्रमुखले निर्वाचनमा पाएको सफलताले देखाए पनि पपुलिज्म उदाएका देशहरुमा भने उक्त सफलता अन्त्य हुने संघारमा देखाइरहेको छ ।

केपी ओली र नेपाल 

नेपालबाट पनि पपुलिज्म कमजोर भइरहेको देख्न सकिन्छ । केपी ओली र प्रचण्डको गठबन्धनले विश्वव्यापी रुपमा उम्दा शक्ति देखाएको पपुलिज्मको नेतृत्व नेपालमा गर्यो । दुई तिहाइ शक्ति आर्जन गर्नेक्रममा प्रजातान्त्रिक समाजवादको नाम बेच्दै आएको कांग्रेसलाई पहिलो दलबाट विस्थापन गर्दै ओलीको तत्कालीन एमाले पहिलो दल बन्नपुग्यो । सोही कारण ओली दोस्रो कार्यकालको नेतृत्व गर्न आइपुगे तर उनको पपुलिज्म पनि क्षणिक साबित भएको छ । खासगरी भारतीय अघोषित नाकाबन्दीका बेला राष्ट्रवादको पपुलिज्म पक्रेका ओलीले निर्वाचनमा त्यसैको आधारमा जनमत त लिए तर सरकार बनेको नौ महिनामा त्यस्तो उल्लेखनीय काम गर्न सकेका छैनन् ।

जनताको सूचनाको हक हडप्न खोजेको, खोक्रो राष्ट्रवाद देखाएको, शक्तिको दम्भ देखाएको, सरकारी निकायमा आफन्त भर्तीलाई तीव्र पारेको, हत्यारा र बलात्कारीलाई सजाय दिन नसकेको जस्ता गम्भीर आरोपहरु उनीमाथि लाग्दा ओलीको पपुलिज्म पनि खस्किँदै गएको छ । निर्मला हत्या प्रकरण, ३३ किलो सुन काण्ड, यातायात सिन्डिकेट, वाइडबडी खरिद प्रकरणजस्ता घटनामा सरकारको व्यवहारले सरकारको लोकप्रियतामा हरेक दिन असर गरिरहेको देखिन्छ ।  

कता जाला पपुलिज्म ? 

प्रस्तुत उदाहरणहरुले विश्व राजनीतिमा एकाएक उदाएको पपुलिज्म क्रमशः कमजोर भइरहेको देखिन्छ । तीव्र आर्थिक सफलताका बाबजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता खस्किँदै गएको छ भने बेलायत र फ्रान्समा पनि धर्मराइरहेको छ । झन् भारतको ताजा जनादेश हेर्ने हो भने मोदीलाई आगामी निर्वाचनमा दोस्रो कार्यकाल हत्याउन गाह्रै पर्ने देखिएको छ । त्यसो त श्रीलंकामा महिन्दा राजापाक्षेलाई पर्रास्त गर्दै उदाएका मैत्रीपाला सिरिसेनाको अवस्था उस्तै दयनीय बनिरहेको छ भने माल्दिभ्समा उदाएको चीन समर्थक पपुलिज्म ध्वस्त भइसकेको छ । नेपाल पनि त्यही बाटोमा गइरहेको छ ।

तर विश्व राजनीतिमा पपुलिज्मको भविष्य निर्धारण अब केही वर्षमा हुने पपुलिज्मको लिडिङ गर्ने देशमा हुने निर्वाचनले नै तय गर्ने देखिन्छ । सस्तो लोकप्रियताका लागि राष्ट्रवादको नारा दिएर निर्वाचन जित्ने अनि सो अनुसार काम नगरेका कारण नै विश्वमा पपुलिज्म ओरालो लाग्दै गरेको देखिएको छ। नेपालमा पनि यहि नै परमुख कारण मान्न सकिन्छ।  

यद्यपि ब्राजिल, मेक्सिको, फिलिपिन्स, पाकिस्तान लगायतका देशमा पपुलिज्मले सफलता पाएको ती राष्ट्रका कार्यकारी प्रमुखले निर्वाचनमा पाएको सफलताले देखाए पनि पपुलिज्म उदाएका देशहरुमा भने उक्त सफलता अन्त्य हुने संघारमा देखाइरहेको छ । युरोप र अमेरिकामा भइरहेको पछिल्लो राजनैतिक घटनाक्रम यसको प्रमाण हो ।

सम्बन्धित समाचार

वैकल्पिक शक्तिको विकल्प !

काठमाडौं । गत साता नेपाली राजनीतिमा एउटा नयाँ सम्भावनाको अभ्यास गर्दै गरेको विवेकशील साझा दल विभाजित भयो । हुन् त राजनीतिक रुपमा विवेकशील साझा पार्टी फुटेर खासै असर भएन तर

निर्यात प्रवर्धनमा सरकारी सक्रियता नतिजाविहीन 

काठमाडौँ । वैदेशिक व्यापारमा नेपालको हिस्सा खुम्चदै जाने क्रम बढ्दै जाँदा सरकारले निर्यातलाई बढाउने खालका घोषणाहरु गर्दै आएको छ । यसअनुसार अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यात प्रवद्र्धनका लागि

वाइडबडीको राप र धरमराउदो सुशासन अभ्यास

काठमाडौँ । भ्रष्टचारमा शुन्य सहनशिलता र सुशासन कायम राज्यको प्रमुख दायित्वभित्र पर्छ । यी दुई शब्दलाई कुनै पनि सरकारले निकै प्राथमिकतामा राखेका हुन्छन् । तर, कार्यान्वयनमा भने कुनै पनि सरकारले

किन थपिँदै छन् डा. केसीका मागहरु ? 

काठमाडौं । सरकारले आफूसँग विगतमा भएको सहमति पालना नगरेको भन्दै बुधबारदेखि डा. गोविन्द केसी इलाम पुगेर १६औँ अनशन सुरु गरिसकेका छन् ।  सरकारसँग भएको सम्झौताबमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा


z