• २०८१ बैशाख २७ बिहीबार

बेन्नु क्षुद्रग्रहमा पुगेको भोलिपल्टै नासाको स्पेस क्राफ्टले फेला पार्‍यो पानीको संकेत !

kharibot

काठमाडौं । नासाको एच२–ओएसआईआरआईएस स्पेसक्राफ्टले एउटा क्षुद्रग्रहमा पुगेको १ दिनमै त्यहाँ पानी रहेको बलियो संकेत फेला पारेको छ । 

नासाका अनुसार पृथ्वीदेखि ७२ हजार माइल टाढा रहेको क्षुद्रग्रह (आष्टेरोइड) बेन्नुमा पानी रहेको संकेत मिलेको हो । उक्त चट्टानी क्षुद्रग्रह करिब अर्ब वर्षभन्दा बढी पुरानो रहेको छ । वैज्ञानिकहरुले उक्त क्षुद्रग्रहको सतहको अध्ययनबाट पृथ्वीको सतहमा कसरी जीवन विकास हुन पुग्यो भन्ने कारण खुल्न सक्नेछ । 

यस किसिमका क्षुद्रग्रहहरुले पानीसहितका जीवनापेक्षी आधारभूत कुराहरु धेरै प्राचीन समयदेखि नै अनुकूलित बनाएको हुनसक्ने वैज्ञानिक विश्वास छ । 

नासाको लागि उक्त क्षुद्रग्रह अध्ययनका दृष्टिले पनि निकै महत्वपूर्ण रहेको मानिएको छ । 

बेन्नुमा नासाको स्पेसक्राफ्ट यही डिसेम्बर ३ मा मात्रै आइपुगेको हो । अहिले उक्त यानले चट्टानहरुको अध्ययन गरिरहेको छ भने उक्त अध्ययनबाट उक्त क्षुद्रग्रह भविष्यमा कुनै पनि बेला पृथ्वीसँग सूर्य परिभ्रमणको क्रममा ठोक्किने वा नठोक्किने समेत थाहा हुने वैज्ञानिकहरुले बताएका छन् । 

बेन्नुको सतहमा गत हप्ता पहिलोपटक अवतरण गरेको उक्त यानप्रति वैज्ञानिकहरुले धेरै आशलाग्दा उपलब्धि मिल्ने ठानेका छन् । उक्त ग्रहको पहिलो तथ्यांक संकलनअनुसार त्यसले वैज्ञानिकहरुलाई निकै महत्वपूर्ण रहस्योद्घाटन गर्ने उनीहरुको भनाइ छ । 

नासाको गोडार्ड स्पेस फ्लाइट सेन्टरका अनुसन्धान टोलीका सदस्य एमी साइमनले आफूहरुले खोज्न चाहेकामध्ये यो पनि एक रहेको बताएको एजेन्सीहरुले जनाएका छन् । उनका अनुसार त्यहाँ पुगेर मिलेको संकेत उक्त आष्टेरोइडमा तरल अवस्थामै पानी रहेको बलियो प्रमाण पनि हो । 

५ सय मिटर फराकिलो उक्त आष्टेरोइड ठूलो स्पेस चट्टानको एउटा सानो टुक्रा मात्रै हो । जुन अर्ब वर्षभन्दा अगाडि नै टुक्रिएको विश्वास गरिएको छ ।

अहिले नासाको उक्त यान बेन्नुभन्दा १२ माइलमाथि तैरिइएर रहेको छ । सोही अवस्थामा रहेर नै नासाले चट्टानको केमिकल बनावटको अध्ययन गर्न सफल भएको छ । जसमा अक्सिजन र हाइड्रोजनयुक्त केमिकल बन्ड फेला परेको छ । 

५ सय मिटर फराकिलो उक्त आष्टेरोइड ठूलो स्पेस चट्टानको एउटा सानो टुक्रा मात्रै हो । जुन अर्ब वर्षभन्दा अगाडि नै टुक्रिएको विश्वास गरिएको छ । सतहमा नै पानी रहेको बेन्नु सबैभन्दा सानो क्षुद्रग्रह पनि हो । तर यसबाट प्राप्त हुने तथ्यांकले यसको मातृग्रहमा तरल नै अवस्थामा पानी रहेको खुलासा समेत गर्नसक्नेछ । 

वैज्ञानिकहरुको भनाइअनुसार यस किसिमका आष्टेरोइडहरुले नै अर्बौँ वर्षपहिले पृथ्वीमा जीवनका लागि आवश्यक केमिकलहरु ल्याएका हुनसक्छन् । 

बेन्नुको उक्त स्पेसक्राफ्टले करिब २ वर्षसम्म अध्ययन गर्नेछ भने त्यसको सतह छोएर चट्टानहरु संकलन गरी नमूना पृथ्वीमा लिएर आउनेछ । वैज्ञानिकहरुका अनुसार सन् २०२३ सम्ममा उक्त यान पृथ्वीमै फर्किनेछ । यसले सौर्यप्रणालीमा इतिहास र विकासको क्रमको थप खुलासा गर्ने साइमनको भनाइ छ । 

अहिले वैज्ञानिकहरुले कार्बनयुक्त आष्टेरोइडहरुले पृथ्वीको सुरुवातमा पानी ल्याउन महत्वपूर्ण भूमिका खेलेर नै जीवनमैत्री पृथ्वीको रचना भएको मानेका छन् । 

उक्त यानले अहिले आष्टेरोइडको अर्बिटल (परिभ्रमण गर्न मिल्ने) बाटोको अध्ययन गरिरहेको छ, यसपछि यसले डिसेम्बर ३१ बाट आफ्नो यात्रा सुरु गर्नेछ । त्यस्तै यानका प्रसाधनहरुले आष्टेरोइडको बनावटबारे पनि अध्ययन गर्नेछ भने यसको मोसनबाट भविष्यमा पृथ्वीलाई असर गर्ने नगर्ने पनि निश्चित गर्ने बताइएको छ । 

बेन्नु सौर्यप्रणालीको सुरुतिरकै पुरानो क्षुद्रग्रह भएको हुनसक्ने वैज्ञानिक विश्वास छ । यसको सतह धेरै चट्टानी, खिइएको ढुंगा क्षेत्रयुक्त छ । 

  • नोट : यो समाचार द सन युकेसहितका अन्य अन्तर्राष्ट्रिय अनलाइनहरुमा प्रकाशित समाचारहरुमा आधारित छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै