काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसांसद तीर्थराज भूसाल काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेका चितवन जिल्लाका पूर्वसभापति भूसाललाई स्वागत गरेका छन् ।
भूसाल २०४९ सालमा नेपाली काँग्रेसको चितवन जिल्ला सभापति भएका थिए । त्यस्तै २०५० सालमा राष्ट्रिय सुकुम्बासी अयोगका अध्यक्ष र २०५१ सालको आम निर्वाचनमा चितवनबाट निर्वाचित भएका थिए ।
नेकपा प्रवेश गर्दै भूसालले मुलुकलाई समृद्ध बनाउन नेकपा र नेकपा नेतृत्व सरकार सक्षम रहेको बताए । उनले भने, “नेपाली काँग्रेसले मुलुकको समृद्धि गर्न सकेन, सामाजिक परिवर्तन, जनताको मुक्ति र समृद्धि नेकपाले गर्न सक्छ ।” उनले काँग्रेस कार्यकर्तालाई पनि समृद्ध नेपाल निर्माण गर्ने अभियानमा नेकपाको छातामुनी गोलबन्द हुन आग्रह गरे ।