• २०८१ बैशाख २६ बुधबार

चिकित्सा शिक्षा विधेयक फिर्ता हुदैन, प्रक्रिया अनुसार पारित हुन्छ -सरकार

kharibot

काठमाडौँ । सरकारले डा. गोविन्द केसीका सबै माग पूरा भएको भन्दै आन्दोलनको कुनै अर्थ नभएको जनाएको छ । 

मन्त्रीपरिषद्का बैठक सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले सरकारले संसदमा पेश भएको चिकित्सा शिक्षा विधयेक आफ्नै प्रक्रिया अनुसार पारित हुने बताउदै अब फिर्ता हुने सम्भावना नरहेको बताए ।

विधेयकमा रहेका विषयबस्तु बारे बहस नभएको भन्दै मन्त्री बास्कोटाले मिडियालाई यसका विषयबस्तुलाई पनि चर्चामा ल्याउन आग्रह गरे ।

मन्त्री बास्कोटाले डा. केसीले नै विधेयक नपढेको हुनसक्ने भन्दै उनले विधेयक पूरै पढ्न पनि डा केसीलाई आग्रह गरे । ‘डा. केसीलाई हामीले संसदमा पेश भएकोभन्दा अर्कै विधेयक पो दिइएको छ कि भन्ने लागेको छ, डाक्टर सापलाई अनुरोध छ, कृपया विधेयक पढिदिनुस्, तपाइँले उठाएका सबै माग पूरा भएका छन’ प्रवक्ता बाँस्कोटाले भने । 

उनले डा.केसीको अनसनलाई काँग्रेसले राजनीतिकरण गरेको भन्दै संसदमा हुलहुज्जत गर्ने र सभामुखलाई घेराबन्दी गर्नु लोकतान्त्रिक चरित्र नभएको बताए । 

‘सरकारले दुई तिहाइको दम्भ देखायो, अधिनायकावाद लाद्न खोज्यो, जे जे भन्नुस्, प्रक्रियाबाटै अघि बढेको विधेयक शुक्रबार बस्ने संसद बैठकबाट पारित हुन्छ’, मन्त्री बाँस्कोटाले भने । 

काँग्रेसले माग राखेको दुई अस्पतालको बारेमा मन्त्री बास्कोटाले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको योगदानका बारेमा सरकारलाई राम्रोसँग थाहा भएको भन्दै अस्पताल बन्द गर्ने होइन व्यवस्थित गर्न खोजेको बताए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै